Logo

महान्यायाधिवक्ता बडालले चाहनुभयो भने रविजीको राहदानी मुद्दा ब्युँतिन्छः रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै इच्छाअनुसार राति चितवनबाट पोखरा लगिएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रविले प्रचारवाजी गर्नका लागि राति पोखरा लान भनेको बताएका हुन् । लामिछाने आफ्नो देशको नागरिकता नै त्याग्न सक्ने ठूलो अपराधी रहेको उनको दाबी छ । नेता बिडारीले रविलाई अमेरिकामा अप्ठ्यारो परेको र त्यहाँ पनि मुद्दा चलेपछि नेपाल भागेर आएको बताए ।

‘वास्तवमा राति सुतेको ठाउँबाट रविजीकै इच्छाअनुसार गएको हो भन्ने छ । रविजीले कति प्रचारवाजी गर्नुहुन्छ भन्ने कुरा, रविजीलाई मैले चिन्दिनँ । पहिलो कुरा त उहाँ ठूलो अपराधी मान्छे हो, राजनीतिमा आउन नहुने मान्छे हो । देशको विरुद्धमा हुने मान्छे हो । नेपाली नागरिकता छोडेर विदेशी नागरिक त हुनुभयो नि त । तपाईँ नेपालको नागरिकता छोड्न तयार हुनुहुन्छ ? उहाँ अप्ठ्यारो पर्यो, त्यो देशले पनि मुद्दा चलायो भनेपछि भागेर आएर नेपालमा राजनीति गर्छु भनेर फेरि ठगी धन्दामा लागेर । हेर्नुस् त एउटै मान्छेले १०÷८ वटा सहकारीबाट,’– उनले भने ।

साथै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट राति पोखरा लगिएको विषयमा प्रतिशोध भएको भनी बताएको उनले सुनाए । लामिछाने पहिलो पटक गृहमन्त्री भएको बेलापनि राष्ट्रिय परिचयपत्र थाप्ने ठेक्का विदेशीलाई दिएर राष्ट्रघात गरेको नेता बिडारीको भनाइ छ । उनको सो गलत कार्य नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा सच्याइदिएको उनले बताए ।

साथै, लामिछानेको राहदानी प्रकरण तामेलीमा राखेर तत्कालीन प्रधानमन्त्री प्रचण्डले गलत गरेको उनको भनाइ छ । सक्षम महान्यायाधिवक्ताले अझै पनि तामेलीमा रहेको रविको राहदानी मुद्दा जगाउन सक्ने उनले बताए । अहिलेका महान्यायाधिवक्ता रमेश बडालले चाहेको खण्डमा रविको राहदानी मुद्दा पनि व्यूँतिने उनले बताए ।

‘त्यो पासपोर्ट तामेलीमा राखेको गलत छ । अर्को सक्षम महान्यायाधिवक्ता आयो भने त्यो पनि मुद्दा चलाइदिन्छ । दिनमणि पोखरेलजीले गर्नुभएन । अर्को कोही आएपछि गर्ला । अहिलेको महान्यायाधिवक्ताले चाहनुभयो भने पासपोर्ट मुद्दा फेरि सुरु हुन्छ । दुईवटा देशको पासपोर्ट बोकेर कहिले कुन, कहिले कुन पासपोर्ट देखाउँदै हिँड्न पाइन्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्