Logo

कांग्रेस-एमालेका नेताहरुमा सरकार ढल्ने डर छैन, माओवादीले हल्ला चलायोः सहमहामन्त्री परियार (भिडिओसहित)



काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ दल कांग्रेस–एमालेका नेताहरुबीच सरकार ढल्ने कुनै डर नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार ढल्न लागेको भनेर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले हल्ला चलाएको बताएका हुन् । उनले झण्डै दुई तिहाइको बहुमत रहेको वर्तमान सरकार ढल्छ कि भनेर डराउन आवश्यक नरहेको बताए ।

‘यो हल्ला प्रमुख प्रतिपक्षी दललगायतका केही नेताहरुले चलाउनु भएको छ । कांग्रेस र एमालेका नेताहरुमा सरकार ढल्ने कुनैपनि डर छैन । हामी डराउन पर्ने कुनै डर छैन । झण्डै दुई तिहाइ मत छ हाम्रो यो संसद्मा । भनेपछि हामी किन डराउने भन्नुस् त ? कांग्रेस पहिलो पार्टी हो, दोस्रो पार्टी एमाले हो । अरु केही साना दलहरु पनि सम्मिलित छन् यो सरकारमा । भनेपछि डराउनुपर्ने कुरै छैन नि,’– उनले भने ।

फरक प्रसंगमा उनले संविधान संशोधनका एजेण्डा तय गर्नका लागि पहिला प्रमुख प्रतिपक्षी दलसहित कांग्रेस–एमाले गठबन्धन सरकारले सहमति गर्नुपर्ने बताए । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा जान अहिले कांग्रेस तयार नरहेको उनले बताए । ‘अहिले कांग्रेस–एमालेसहितको सरकार छ । यो सरकारले प्रमुख प्रतिपक्षी दलसहितसँग सहमति गरेर पहिला वातावरण सिर्जना गर्नुपर्यो । संविधान संशोधन गर्ने कुरामा सहमति भइसकेपछि एजेण्डा अटोमेटिक आउँछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्