Logo

ठगीमा मुछिएपछि लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव बर्खास्त, अनुसन्धान गर्न उच्च अदालतको परमादेश



काठमाडौं । एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेपछि संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेल बर्खास्त भएका छन् । शुक्रबार सभापति पोखरेलले संसद सचिवालयलाई पत्र लेख्दै उनलाई पदबाटहटाईदिन अनुरोध गरेका छन् ।

मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएका थिए ।

३८ लाख ३० हजार बुझाउँदा पनि बौआलालकी छोरीको नाम ननिक्लिएपछि रकम मागेका थिए । पैसा माग्दा पोखरेलले उल्टै चौधरीलाई ५० लाख रुपैयाँ ऋण दिएको कपाली तमसुक देखाएका थिए ।

अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले भनेका छन्– मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।

लेखा समिति सभापति पोखरेल पछिल्लो समय विवादको भूमरीमा फसेका छन् । उनकी श्रीमती अञ्जला कोइराला मोरङको उमागौरी सहकारी ठगीको आरोपमा फरार छिन् । अञ्जलाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ भने पक्राउ पूर्जीसमेत जारी भएको छ । तर, उनी २ सातादेखि फरार छिन् ।

अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । तर, अन्तिममा टिकट भने लिलावल्लभ अधिकारीले पाए ।



प्रतिक्रिया दिनुहोस्