Logo

ऋषिकेशलाई फेरि अर्को तनाव, श्रीमतीपछि स्वकीय सचिव पनि ठगीमा मुछिए, परमादेशको ५ महिनापछि बल्ल गरे बर्खास्त



काठमाडौं । एकपछि अर्को गर्दै संकटको सामना गरिरहेको नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि फेरि अर्को संकट आइपरेको छ ।

पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलमाथि लागेको छ ।

मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएका थिए ।

३८ लाख ३० हजार बुझाउँदा पनि बौआलालकी छोरीको नाम ननिक्लिएपछि रकम मागेका थिए । पैसा माग्दा पोखरेलले उल्टै चौधरीलाई ५० लाख रुपैयाँ ऋण दिएको कपाली तमसुक देखाएका थिए ।

अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दामा गत भदौमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो ।

‘कानुनमा उल्लेखित कर्तव्य बहन नगरेको कारणले सो कर्तव्य बहन गराउन आवश्यक र उपयुक्त उपचार माग गरेमा र माग जायज र कानुन सम्मत नै देखिँदा निवेदकले दिएको जाहेरी दरखास्तको आवश्यक कारबाही र कानुन सम्मत निकासको लागि विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय मोरङको नाममा परमादेशको आदेश जारी गर्नुपर्ने देखिन आयो,’ आदेशमा भनिएको छ।

उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई ५ महिनापछि स्वकीय सचिव पदबाट हटाएका छन् । शुक्रबार पोखरेलले संसद सचिवालयलाई एक पत्र लेख्दै उनलाई स्वकीय सचिवबाट हटाईदिन अनुरोध गरेका छन् ।

संघीय संसद् सचिवालयमा आज दर्ता गरिएको पत्रमा भनिएको छ,‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत,मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । निजमाथि लगाइएका विभिन्न आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्काशन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

लेखा समिति सभापति पोखरेल पछिल्लो समय विवादको भूमरीमा फसेका छन् । उनकी श्रीमती अञ्जला कोइराला मोरङको उमागौरी सहकारी ठगीको आरोपमा फरार छिन् । अञ्जलाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ भने पक्राउ पूर्जीसमेत जारी भएको छ । तर, उनी २ सातादेखि फरार छिन् ।

अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । तर, अन्तिममा टिकट भने लिलावल्लभ अधिकारीले पाए ।



प्रतिक्रिया दिनुहोस्