कलैया । खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानी सहितको नलको व्यवस्था गरिने बताएका छन् ।
आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (तीन दशमलब ४ किमी) नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
उनले भने, “बारा जिल्लामा घाम पानीले क्षती पुर्याएका खानेपानीका सबै टङ्कीहरु मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी बितरण गर्ने म बचन दिन चाहन्छु ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी गर्ने कार्य बढेको तथा जलवायु परिर्वतनका कारण तराइँका विभिन्न क्षेत्रमा रहेका भुमिगत खानेपानी सहित चापाकलहरु सुक्दै गएकाले आगमी दिनमा तराइँका क्षेत्रमा पानीको निकै समस्या उत्पन्न हुने अवस्था सृजना भएको बताएको उनको सचिवालयले जनाएको छ ।
“विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउथ्यो, चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउँन छोडेको छ, उनले भने, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराइँमा पानीको निकै हाहाँकार हुने सम्भावना छ । सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्याउनका लागि कटिबद्ध रहेको छ ।”
बाराको सिस्वा गाउँवासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना १४ करोडको टेण्डर आह्वान गर्ने कार्ययोजना रहेको समेत मन्त्री यादवले बिश्वास दिलाए । उनले भने “म खानेपानी मन्त्री हुँ । मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउनु हो । मेरो कार्यकालमा सबै नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने छु ।”
आम नेपाली नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उदेश्यले सञ्चालनमा रहेका खानेपानी मन्त्रालय मातहतका सबै खानेपानी आयोजनाहरुको नतिजा देखिने गरी काम गरी काम भइरहेको समेत मन्त्री यादवले जानकारी दिए ।