काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिएका छन् ।
शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन कार्यक्रममा बोल्दै शर्माले भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्नेमा जोड दिए ।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ शर्माले भने ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति –विद्यादेवी भण्डारी र डा। रामवरण यादवहरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु’ ।
नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष रहेकी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएपछि फेरि सक्रिय रानीतिमा फर्किन वार्मअप गरिरहेकी छन् । यद्यपि यस विषयमा भने एमालेभित्र एकमना छैन् । अध्यक्ष केपी शर्मा ओलीलगायतको एउटा पंक्ति भण्डारीलाई राजनीतिमा नल्याउने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष पोखरेल उपाध्यष्क्ष विष्णु पौडेललगायत भण्डारीलाई एमालेमा सक्रिय गराउने पक्षमा छन् ।