Logo

ऊर्जा विकास मार्गचित्र योजना आउनु ऐतिहासिक कुरा हो, इतिहासले मन्त्री दीपक खड्काको नाम लिनेछः इप्पान अध्यक्ष कार्की



काठमाडौँ, १९ पुस । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको थियो । सरकारले उर्जा विकासको क्षेत्रमा महत्वकांक्षी योजना अगाडि सारेको छ । सरकारले निर्धारित समयमा उक्त लक्ष्य पूरा गर्नका लागि गर्नुपर्ने काम, नीतिगत सुधार, समस्या र चुनौतिमा केन्द्रित भएर रिपोर्टर्स क्लब नेपालले विज्ञहरुसँग अन्तर्क्रिया गरेको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाललाई समृद्ध बनाउने हो भने उर्जा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले वर्तमान सरकारले उर्जा क्षेत्रलाई प्राथामिकतामा राखेको आफूहरुले पाएको सुनाए । ‘नयाँ सरकार आइसकेपछि निजी क्षेत्र माथि जानुपर्छ । यो देशलाई बनाउने हो, साच्चै नै बनाउने हो र समृद्धिको कुरा गर्ने हो भने निजी क्षेत्र नै हो भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले पनि धेरै पटक भन्नुभएको छ । अर्थमन्त्रीज्यू पनि उर्जाको क्षेत्र बुझेको हुनुहुन्छ,’– उनले भने ।

साथै, वर्तमान उर्जामन्त्री दीपक खड्काले उर्जा क्षेत्रको समस्या र चुनौति बुझेको आफूहरुले पाएको अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीले उर्जामन्त्री खड्काको अग्रसरतामा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको रोड म्याप आएको भन्दै उनलाई इतिहासले सम्झिइरहने बताए । मन्त्री खड्काले उर्जा मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै केही गर्न खोजेको भान निजी क्षेत्रलाई परिरहेको बताए ।

‘उहाँ आएदेखि नै हामीले धेरै पटक भन्यौं, यो देशमा उर्जाको विकास गर्नुपर्छ । अहिले पनि भएन भने हामीले उर्जा क्षेत्रको विकासको कुरा गर्नु गलत हुन्छ भनेर हामीले धेरै पटक कुरा गर्यौं । हामीले २८ हजार ५ सय मेगावाटको बारेमा धेरै पटक कुरा गर्यौं । यो कुरा क्याविनेटले स्वीकृत गर्यो भनेर आइसकेको छ । यो स्वीकृत गर्नु नै ठूलो कुरा हो । हामीले अहिले शैलजा आचार्यको जसरी नाम लियौं, इतिहासले दीपक खड्काको नाम लिनसक्छ,’– उनले भने ।

उनले २८ हजार ५ सय मेगावाट उत्पादनका लागि धेरै चुनौति भने रहेको बताए । तर, सरकारले निजी क्षेत्रलाई समेटेर लान चाहेको खण्डमा उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र सक्षम रहेको उनले बताए । ‘हामीले धेरै पटक सरकारलाई भनिसकेका छौं, आज पनि भन्छु, हामी सक्षम छौं, बनाउन सक्छौं,’– उनले भने ।

साथै, उत्पादित विद्युत नेपालमै खपत गर्नका लागि सरकारले प्लान ल्याउनुपर्ने उनको सुझाव छ । सरकारले ट्रान्समिसन लाइन बनाउनुपर्ने, डिस्ट्रिव्यूसनका लाइनहरु बनाउनुपर्ने र खपत बढाउनका लागि नागरिकहरुलाई आकर्षित गराउन पर्ने उनले बताए । उर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि अबको वर्ष उर्जा दशक घोषणा गरेर अगाडि बढ्नुपर्ने, नितिगत सुधार गरेर अगाडि बढ्नुपर्ने, निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्नुपर्ने र विदेशी लगानी भित्र्याउन पनि सहज वातावरण बनाउनुपर्ने उनको सुझाव छ ।

नेपाललाई समृद्ध बनाउनका लागि अब उर्जाको विषयमा कुरा गर्नुपर्ने उनले बताए । अध्यक्ष कार्कीले नेपालमा छरिएर रहेको पुँजी उर्जाको क्षेत्रमा भित्र्याउने, एनआरएनएहरुलाई उर्जाको क्षेत्रमा लगानी गर्नका लागि आह्वान गर्ने जस्ता काम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्