Logo

सरकारले सदन छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको माओवादीको निष्कर्ष



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको नियत ठीक नभएको निष्कर्ष निकालेको छ । आज बसेको स्थायी समितिको बैठकले सरकारले हिउँदे अधिवेशन छलेर अध्यादेशको बाटो रोजेको निष्कर्ष निकालेको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ। त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि’ उनले भने

उनका अनुसार अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको छ ।

‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्‍यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकतृ समाजवादी लगायतका दल फुटाउन अध्यादेश ल्याउन लागेको गाईगुईं हल्ला चल्न थालेको छ । यो चर्चाले गर्दा हिउँदे अधिवेशन बोलाउनसमेत ढिलाइ भइरहेको छ । सरकारले हिँउदे अधिवेशन रोकेर अध्यादेश ल्याउन खोजेको चर्चा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेका थिए । त्यतिबेला सत्तारुढ गठबन्धनको कांग्रेसले असहमति जनाएको थियो । सुरुमा सहमति दिए पनि अन्तिम समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले असहमति जनाएकै कारण मन्त्रिपरिषद् बैठक रोक्नु परेको थियो । अहिले भने कांग्रेसले पनि सहमति दिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्