Logo

सहकारी पीडितले पैसा फिर्ता नपाएकोमा कांग्रेस नेता थानीको आक्रोशः ‘सरकारमा बसेपछि जनताको पैसा तिर्न पर्दैन ?’



काठमाडौं, २० पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीले केपी शर्मा ओली र शेरबहादुर देउवाबाहेक अरुले चाहेर सरकार ढाल्न नसक्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई नेताहरुबीच कुरा नमिलेमा मात्रै सरकार ढल्ने बताएका हुन् । उनले अरुले चाहेको भरमा सरकार नढल्ने बताए । ‘जो नेताहरुले सिग्नेचर गर्नुभएको छ, उहाँहरुले नमानेमा मात्रै सरकार ढल्छ । उहाँहरुकै बीचमा कुरा मिलेर यो सरकार बनेको हो । उहाँहरुको कुरा नमिले न हो । हाम्रो त कुरा मिलेकै छ,’– उनले भने ।

साथै, पार्टीले उपसभापति धनराज गुरुङलाई सहकारी ठगी प्रकरणमा नजोगाएको उनको दाबी छ । नेता थानीले उपसभापति गुरुङले संसद्मा उभिएर म माथि छानविन होस् भनेको स्मरण गराए । उनले धनराजमाथि छानविन गर्न सरकारलाई सुझाव दिए । ‘धनराजजीले सदनमा मेरो बारेमा छानविन गर भनेर उहाँ आफैंले बोल्नुभएको छ । छानविन गरे भइगयो नि । धनराजजी आफैंले भन्नुभएको छ, कसले जोगाएको छ । तपाईँ बेनामी उजुरी हाल्नुस् न त,’– उनले भने ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसले सहकारी ठगी प्रकरणमा फसाएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनको भनाइ छ । तर, सरकारले सहकारी पीडितको रकम फिर्ता गर्नेतर्फ चासो नदेखाएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘सरकारले सहकारी पीडितलाई के गरेर पैसा दिने हो ? जो–जसले पैसा खाएका छन्, तिनीहरुबाट असुल गर्ने काममा सरकार लाग्नुपर्यो नि त । असुल गरेको देख्नु भएको छ ? कारबाहीले मात्रै हुँदैन, असुल गर्नतिर पनि त लाग्नुपर्यो नि त । कसका जग्गा छन्, लिलाम गर्नुपर्यो, हुनेको त गरेर तिर्नुपर्यो नि त । खाली कारबाही गछुर्् भन्छ । सरकारमा बसेपछि जनताको पैसा तिर्न पर्दैन ? सरकार गम्भीर भएन भने भोलि जनताले जदौ साब भन्दैनन् । जनताको सरोकारको विषयमा सरकार गम्भीर हुनुपर्यो ।’

साथै, उनले जिबी राईलाई ल्याउनेतर्फ सरकारले ध्यान दिन नसकेको पनि बताए । सरकारले जिबी राईलाई देखाएर अरुलाई उन्मुक्ति दिन खोजेको उनको बुझाइ छ । ‘जिबी राई मलेसिया छन्, कि कहाँ छन् ? ल्याउनु त पर्यो नि त । त्योपछि धेरै कुरा खुल्छ नि । जिबी राईको त कति करोड ? ६७/६८ करोड रुपैयाँ हो नि त । ८८ अर्ब त छ त बाँकी त्यता हेर्न पर्यो कि परेन ?’ प्रश्न गर्दैै उनले भने ।



प्रतिक्रिया दिनुहोस्