काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले वर्तमान सरकारले दलाल, नोकरशाह र पुँजीपति वर्गको हितको लागि मात्रै काम गरेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले जनताको काम नगरेको र जनतालाई डेलिभरी दिन नसकेको बताएका हुन् । वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकोमा कांग्रेस–एमालेका नेताहरु पनि असन्तु्ष्ट रहेको उनले बताए । सचिव शर्माले सरकारकै असन्तुष्टिको कारणले एमाले पुनः फुट्ने स्थिति सिर्जना भइसकेको उनको बुझाइ छ ।
‘यो सरकारले दलाल, नोकरशाह, पुँजीपति वर्गको हितको लागि संरक्षण गर्नेमात्रै काम गर्यो । जनताको काम गरेन । जनतालाई डेलिभरी दिन सकेन । यो कुरा हामीले भनेकोमात्रै होईन, सरकारमा बसेका कांग्रेस–एमालेका साथीहरु असन्तोष छन् । यसकैको कारणले स्वयं नेकपा (एमाले) फुटेर जाने स्थिति सिर्जना भइसक्यो,’– उनले भने ।
साथै, उनले माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा नरहेको बताए । माओवादी अहिले सम्मेलन, अभियानमार्फत जनताको बीचमा जाने, सरकारले गरेका गलत कामहरुको बारेमा जनताहरुलाई सुसुचित गराउने काममा लागिरहेको उनले बताए । ‘गलेर, सडेर सरकार भत्किन्छ, त्यो उसको कुरा हो । तर, माओवादी अहिले सरकार फेर्ने, बदल्ने काममा लागेको छैन । हामी पार्टीका बैठकहरु गर्ने, सम्मेलन गर्ने, अभियान चलाउने, जनताको बीचमा जाने, सरकारले गरेका गलत कामहरुको बारेमा जनताहरुलाई सुसुचित गराउने, चेतना फैलाउने भूमिका निर्वाह गरिरहेका छौं,’– उनले भने । File Photo/RN