Logo

खगराजको आरोपः बालुवाटार जग्गा प्रकरणबाट उन्मुक्ति पाउन माधवले पार्टी फोरे, प्रचण्डले नाटक मञ्चन गरे (भिडिओसहित)



काठमाडौं, २० पुस । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले नेकपा (माओवादी) केन्द्रका नेताहरुले तथ्यहीन र हावादारी कुरा गरेर जनमत भड्काइरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले हावादारी, तथ्यहीन कुरा गरेर अराजकता प्रदर्शन गरिरहेको टिप्पणी गरेका हुन् । उनले प्रचण्डले आफूले नै कोशी प्रदेश नामाकरण गर्न लगाएको र अहिले जातीय राज्यको नाममा अराजकता मच्चाइरहेके बताए ।

‘तथ्यहीन कुरा गर्ने, हावादारी कुरा गर्ने, जनमतलाई भड्काउने, आफू सत्तामा जानका लागि जे पनि गर्ने, आफैंले कोशी प्रदेश नाम राख्ने, भोलि जातीय पहिचान चाहियो, एकल जातीय पहिचान भनेर मान्छे भड्काउने अराजक तत्वलाई हामीले धेरै ध्यान दिन जरुरी छैन,’– उनले भने ।

साथै, उनले माओवादी केन्द्र र प्रचण्डलाई निभ्न लागेको बत्तिको संज्ञा दिए । उनले त्यतातिर धेरै ध्यान दिन आवश्यक नरहेको टिप्पणी गरे । ‘उहाँ निभ्नेबेलाको बत्तिले अलिकती ध्वाँस दिने काम हो । त्यतातिर हामी धेरै ध्यान नदिउँ,’– नेता अधिकारीले भने ।

अहिले उनैलाई गिरीबन्धु जग्गा प्रकरणमा जोडिएको तर्फलक्षित गर्दै नेता अधिकारीले बालुवाटारको जग्गा केपी ओलीको अगुवाइमा सरकारको नाममा फिर्ता ल्याउने पहल भएको दाबी गरे । उनले बालुवाटार जग्गा प्रकरणकै कारण माधव नेपालले पार्टी फुटाएको दाबी गरे । प्रचण्डले माधवलाई बचाउन नाटक नै मञ्चन गरेको उनको आरोप छ । केपी ओलीलाई बदनाम गराउन जुनसुकै काण्डमा जोडपनि अब जनताले नपत्याउने उनको भनाइ छ ।

‘जसले बालुवाटार जग्गा प्रकरणको खोज अनुसन्धान गर्यो केपी ओलीले अनि उसैलाई भ्रष्टाचारी भनिदिने, यो समाजमा मान्छे जति भनेपनि पाइन्छन् । माधव नेपालले पार्टी फोर्नुपर्ने कारण नै त्यही छ । उसैलाई बचाउन प्रचण्डले गरेको नाटक मञ्चन तपाईँले देखिसक्नुभयो । यस्ता कुरा अब पत्याउने जनता छन् र कोही ?’ प्रश्न गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्