Logo

रास्वपा केन्द्रीय समिति बैठक जारी, एजेण्डा संविधान संशोधन पनि



काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक काठमाडौंमा जारी रहेको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, बैठकमा छलफल हुने एजेण्डाहरुमा विभिन्न विधेयक, राजनीतिक मुद्दाहरु रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले संविधान संशोधन पनि बैठकमा छलफलको एजेण्डा रहेको बताए ।

‘विशेषगरी हामीले अलिकती राजनीतिक एजेण्डाहरुमा पनि छलफल गर्दैछौं । यसमा विभिन्न विधेयक, राजनीतिक मुद्दाहरुको कुरा छ । हामीले संविधान परिमार्जनका छलफलका कुराहरु पनि यसमा गर्दैछौं । हाम्रो संगठनात्मक कुराहरु, पार्टीको रणनीतिको कुराहरु हामी गर्दैछौं । संगठनलाई कसरी अगाडि बढाउने, प्रशिक्षणका कुराहरु, अभियानका कुराहरु आज र भोलिको बैठकमा छलफल हुन्छ,’– उनले भने ।

बैठकमा प्रदेशबाट प्रदेश महामन्त्री र संगठन विभागका प्रमुखको पनि उपस्थिति रहने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्