काठमाडौं, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्रको विभिन्न सेक्टर लथालिङ्ग र भताभुङ्ग रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले ५ महिनामा केहीपनि काम गर्न नसकेको उनको दाबी छ । मन्त्री गुरुङले पाँच महिनामा सरकारले यो–यो गर्यो भनेर देखाउने केही पनि उपलब्धी नरहेको बताए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘अहिले चाहीँ मैले गर्वका साथ के भन्छु भने– देखाउने कुरा त केहीपनि छैन अहिले हामीसँग । हामीले यो पाँच महिनाभित्र यो–यो गरियो भने देखाउने कुरा केही छैन । पाँच महिनाभित्र सिकेको कुरा के हो भनेदेखि प्रधानमन्त्री या मजस्तो मन्त्रीले अनुभूति गरेको वा सिकेको कुरा के हो भनेदेखि हाम्रो मुलुक चरम संकटमा बेथितिमा छ । यतिधेरै अराजकता, यतिधेरै अस्तव्यस्थता अहिले छ ।’
मन्त्री गुरुङले सरकारको काम गर्ने तरिका र कर्मचारी, प्रहरी प्रशासनको काम गर्ने तरिकामा ड्राफ्टिक चेन्ज हुनुपर्ने अवस्था रहेको बताए । उनले नयाँ व्यवस्था र पुरानो शैलीको काम गर्ने व्यूरोक्रेशीले अन्तरद्वन्द्व सिर्जना गरेको दाबी छ । उनले काम गर्न सरकारको विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए । उनले अहिले आयत ठप्प रहेको, उद्योगहरुको उत्पादन ५० प्रतिशतभन्दा बढी कसैको नरहेको बताए ।