काठमाडौं, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका अवयवहरुले घुस खाइरहेको टिप्पणी गरेका छन् । दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि तलका अवयवहरुले घुस खाइरहेको र जनताले घुस दिन परिरहेको बताएका हुन् ।
साथै, आफूले घुस दिएको कुरा प्रधानमन्त्रीलाई भन्न सामान्य जनताको पहुँच नै नरहेको उनले बताए । प्रधानमन्त्रीलाई सामान्य मान्छेले भेट्नै नपाउने उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीले कति दिनदेखि भनिरहनुभएको छ– म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ । हाम्रो तलका अवयवहरुले घुस खाइरहेको छ । जनताले घुस दिन परिरहेकै छ । जनताले घुस दिन परिरहेको जनतालाई थाहा छ नि । ठूलो मान्छेलाई के थाहा हुन्छ ? मैले घुस खाएँ भनेर कसैले भन्न आउँदैन । जनतालाई फलानो ठाउँमा मैले घुस दिएँ भन्न पहुँच नै छैन प्रधानमन्त्रीकहाँ । हाम्रो सिस्टम त्यस्तो छ, सामान्य मान्छेले भेट्न पाउँदैन नि ।’
साथै, उनले आफूले वर्तमान सरकारको मन्त्रीको रुपमा पाँच महिना बस्दा सबैभन्दा ठूलो समस्या सुशासन पाएको बताए । मन्त्री गुरुङले देशमा सुशासन नभएको र सबैतिर अस्तव्यस्त र भद्रगोल तरिकाले चलिरहेको बताए । ‘मैले पाँच महिना काम गर्दा हाम्रो सबैभन्दा ठूलो समस्या भनेको सुशासनको समस्या छ । सुशासन भयो भने पुँजीगत खर्च पनि बढिहाल्छ । उत्पादन पनि बढिहाल्छ, भ्रष्टाचार पनि नियन्त्रणमा आइहाल्छ । सबैभन्दा ठूलो समस्या भनेको सुशासन हो । सुशासन नै छैन । सबै ठाउँमा अस्तव्यस्त र भद्रगोल छ । सुशासनका जे–जे आयमहरु छन्, त्यसलाई राम्रोसँग समातेर गइयो भने अहिलेका समस्याहरु समाधान हुनथाल्छन्,’– उनले भने ।