काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङको छोरालाई देखिनसहेको टिप्पणी गरेका छन् । आज (शनिबार) माओवादी केन्द्र कालिका गाउँपालिका रसुवाको दोस्रो पालिका सम्मेलन उद्गघाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध ओली नेतृत्वको सरकार लागिरहेको बताएका हुन् । कुलमानलाई सरकारले हटाएको खण्डमा राम्रो नहुने चेतावनीसमेत दिए ।
‘अहिले सिंहदरबारमा बसेको त्यो मान्छेलाई तामाङको छोरोसँग खुब रिस उठेको छ, कुलमान घिसिङ । तिनी इन्भटर बेचेर खान्थे । तिनी इन्भटर व्यापारीसँग घुस लिन्थे । दानका नाममा पैसा खाएर बसेका थिए । तामाङको छोरोलाई हामीले विद्युत प्राधिकरणको जिएम बनायौं । अहिले महिनामा अर्बको विजुली बेचिरहेको छ । केपी ओलीलाई खुब रिस उठेको छ त्यो तामाङको छोरोसँग । हामीले बनाएको, हामीले पुर्याएको तामाङको छोरो हटायौ भने तिम्रो ढाड…,’– उनले भने ।
नेता दीपशीखाले ओली नेतृत्वको वर्तमान सरकारले छ महिनाको अवधिमा सिन्कोसमेत भाँच्न नसकेको दाबी गरे । एमालेले व्यवसायी मिनबहादुर गुरुङसँग दान लिएको जग्गा घुस नै रहेको दाबी गरे । उनले भने, ‘अरुले गर्दा भ्रष्टाचार हुन्छ । केपी ओलीले मिनबहादुर गुरुङबाट लिएको जग्गा घुस हो कि होईन ? यसलाई भ्रष्टाचार भनिन्छ ।’
साथै, वर्तमान सरकार जनताको सरकार नभएर भ्रष्ट र दलालहरुको रहेको उनको दाबी छ । ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी माया पाँचतारे होटलका मालिक र मिनबहादुर गुरुङहरुको रहेको उनले बताए ।