Logo

सरकारले उत्कृष्ट र जनताले देख्नेगरी काम गरिरहेको छ, १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन सम्भव छः मन्त्री खड्का



काठमाडौं, २१ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न सम्भव रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब ठूला र नयाँ आयोजना सुरु हुने बताएका हुन् । उनले सर्वेक्षणपछि नै ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ ल्याइएको दाबी गर्दै यसमा शंका गर्नुपर्ने कारण नै नरहेको बताए ।

वर्तमान सरकारले काम गर्ने चाहना र इच्छाशक्ति व्यक्त गरेको उनले बताए । मन्त्री खड्काले सुझबुझ भएका नेताहरुको सहमतिमा अहिलेको सरकार बनेको बताउँदै यसले उत्कृष्ट र जनताको पक्षमा काम गर्ने बताए । ‘गर्ने चाहना र इच्छाशक्ति चाहिन्छ, असम्भव कुरा कमै हुन्छन् । यति मजबुद् सरकार र सुझबुझ भएका नेताहरुले नेतृत्व गरेको सरकार हो यो । दुईवटा ठूला पार्टीले देशको अवस्था, स्थितिलाई देखेर प्रतिपक्षमा बस्नुपर्ने पार्टी सरकारमै बसेको छ । अहिले यो सरकारले उत्कृष्ट काम र जनताले देख्नेगरी काम गर्छ,’– उनले भने ।

मन्त्री खड्काले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ कार्यन्वयनमा जाँदै गर्दा झण्डै ५० लाख मानिसलाई रोजगारी सिर्जना हुने बताए । उनले उक्त परियोजनाले नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए । अब जलविद्युत क्षेत्रमा आगामी १० वर्षमा ६२ खर्ब लगानी हुने र लगानीको स्रोत सुनिश्चितताको चिन्ता गर्नुपर्ने आवस्था नरहेको मन्त्री खड्काको भनाइ छ । लगानीको वातावरण निर्माण भएकाले लगानीकर्ताहरु आफैं उत्साहित भएर आउने उनले बताए ।

‘मेरो आफ्नो कार्यकाल छोटो छ, तथापि म तपाईँलाई भन्छु– यो दुई वर्षभित्र झण्डै ५० लाख मान्छेलाई रोजगारी सिर्जना गर्ने रोडम्याप हो यो । अब यसको सुरुवात हुन्छ । हामीसँग अब ठूला–ठूला अड्किएर बसेको परियोजनाहरु सुरु हुन्छ । आर्थिक हिसाबले मुलुक चलायमान हुन्छ । ६२ खर्ब बराबरको रकम १० वर्षमा यस क्षेत्रमा मात्रै सञ्चालन हुन्छ, प्रयोग हुन्छ,’– उनले भने ।

साथै, उनले विपन्न जनतालाई हाइड्रोपावरको शेयर सुनिश्चितता भएको पनि बताए । मन्त्री खड्काले भरसक निर्व्याजी रुपमा आयोजना नै धितो हुनेगरी गरिब र विपन्न जनतालाई शेयर उपलब्ध गराउने उनले बताए । आगामी १० वर्षमा लक्ष्यभन्दा बढी उत्पादन गरिने तर कम नहुने बताए ।

भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता भइसकेको उनले स्मरण गराए । नेपालको उर्जा क्षेत्रमा परिणाममुखी कामको सुरुवात भएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्