Logo

देउवालाई अहिले प्रधानमन्त्री चाहिएको छैन, माओवादीले चाहेर सरकार ढल्दैनः मन्त्री खड्का (भिडिओसहित)



काठमाडौं, २१ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले माओवादी केन्द्रको रहरमा वर्तमान सरकार नढल्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेस–एमाले कसैले पनि सरकार ढाल्न नचाहेको बताएका हुन् । उनले एमाले–कांग्रेका नेताहरु कोही पनि सरकार ढाल्ने पक्षमा नरहेको र आवस्यकता पनि नरहेको उनले बताए । उनले सरकार आफ्नो काममा लागिरहेको उनले बताए ।

मन्त्री खड्काले वर्तमान सरकार समृद्धिको यात्रातिर अगाडि बढेको दाबी गर्दै २०८४ सम्म यो गठबन्धन कायमै रहने दाबी गरे । उनले वर्तमान सरकारको कार्यायोजनाले अबको १० वर्षभित्रमा समृद्धि हासिल हुने, रोजगारी सिर्जना हुने बताए ।

‘कसैका रहरले हुँदैन । जबसम्म कांग्रेस र एमालेले चाहँदैन, तबसम्म यो सरकार ढल्ने कुरा छैन । एमालेको अध्यक्ष स्वयं प्रधानमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेसका सभापति उहाँले भरपूर सहयोग गरिरहुनु भएको छ । उहाँलाई अहिले चाहिएकै छैन, उहाँ आफ्नो कमिटमेन्टमा हुनुहुन्छ । सम्झौताअनुसार उहाँ कार्यान्वयन गर्ने मान्छे हो । ढाल्ने कसले हो ? कांग्रेसलाई सरकार ढाल्नुपरेको छैन, एमालेलाई ढाल्नुपरेको छैन । माओवादीले सरकार ढाल्न चाहेर ढल्छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले आगामी डेढ दुई महिनाभित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने बताए । नेपालले भारतबाट सिक्नुपर्ने कुरा धेरै रहेको बताउँदै उनले मुलुकलाई आर्थिक हिसाबले अगाडि बढाउन सहकार्य आवस्य करहेको बताए । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति भने ठ्याक्कै फिक्स नभइसकेको बताए ।

‘डेढ दुई महिनाबीचमा उहाँको भारत भ्रमण तय हुन्छ । ठ्याक्कै डेट फिक्स भइसकेको छैन । तर, भारत जानैपर्छ, हाम्रो राम्रो छिमेकी मुलुक । यत्रो समृद्ध कुरा गरिराखेको मुलुक, आर्थिक हिसाबले अगाडि बढिसकेको मुलुक । सिक्न पर्छ नि,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्