Logo

दीपक मनाङेको मुद्दामा सर्वोच्च- ‘चक्रे मिलनको ज्यानै लिने मनसायले खुँडा जस्तो घातक हतियारले टाउको र घाँटीमा प्रहार गरेको देखियो’



काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद तथा पूर्व मन्त्री दीपक मनाङे भनिने राजीव गुरुङको मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत कात्तिक २० गते सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठ आइतबार सार्वजनिक भएको हो ।

न्यायाधीशद्धय सुवेदी र ढुंगानाको संयुक्त इजलासले गुण्डा नाइके मनाङेलाई अर्को गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङको ज्उान लिन खोजेको कसुरमा दोषी ठहर गरेको थियो । सर्वोच्चको र्फसलालगत्तै फरार रहेका उनलाई कात्तिक २७ गते प्रहरीले राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको थियो । मनाङे हाल डिल्लीबजार कारागारमा बाँकी कैद सजाय भोगिरहेका छन् ।

०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा चक्रे भनिने मिलन गुरुङ आफ्ना साथीहरु काजी शेर्पा, यादव डंगोल, विनय शाक्यसँग खाना खाँदै गरेको अवस्थामा ज्यान मार्ने उद्देश्यले दिपक मनाङ्गे भन्ने राजीव गुरुङ, पङ्कज शाह, राजु ग्वारा भन्ने राजु श्रेष्ठ, संजिव डंगोल, रेवत कार्की, राजन गुरुङ, मंगल श्रेष्ठ समेतले धारिलो हतियार प्रहार गरी मिलन गुरुङको बायाँ हात छिनाली दिएका थिए ।

घटनापछि उनीहरुलाई कारबाही गर्न माग गर्दै मिलन गुरुङको श्रीमती इन्दिरा गुरुङले जाहेरी दरखास्त दिएकी थिईन् । पछि मिलनको छिनेको हात भने जोडिएको थियो । करिब २० वर्षअघिको उक्त्त मुद्दामा जिल्ला र उच्च अदालतले फरक फरक आदेश गरेका थिए । ०६३ माघ ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले घटना सामान्य कुटपीट भएको भन्दै मनाङेलाई २ वर्षको कैद सजाय तोकेको थियो ।

जिल्लाको आदेशविरुद्ध मिलनकी श्रीमती इन्दिरा उच्च अदालत पुगिन् । ०६९ साउन २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्धय एकराज आचार्य र रामचन्द्र यादवको इजलासले जिल्लाको फैसला उल्ट्याउँदै ज्यान मार्ने कसुरमा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्षको कैद तोक्यो भने अरुलाई सफाइ दियो । उच्चको फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि उच्च अदालतकै आदेशलाई सदर गरेको थियो ।

उच्च अदालतको फैसला सदर गरेको सर्वोच्च अदालतले मनाङेले चक्रे मिलनको ज्यानै लिने मनसायले खुँडा जस्तो घातक हतियारले टाउको र घाँटीमा प्रहार गरेको देखिएको ठहर गरेको छ ।

फैसलामा भनिएको छ ‘पीडितसँग पूर्व रिसइवी समेत रहेका यी प्रतिवादीले पीडितको ज्यान लिने नै मनसायले खुँडा जस्तो घातक हतियारले टाउको तथा घाँटीमा प्रहार गर्नुको साथै घाइतेले आफूलाई बचाउन हातले छेक्दा बायाँ हात नै छिनालेको तथ्य स्थापित छ । तत्काल नजिकको शिक्षण अस्पताल महाराजगञ्ज लगेको कारणले मात्र पीडित चक्रे भन्ने मिलन गुरुङको मृत्यु हुन नपाएको भए पनि प्रतिवादीले आपराधिक कार्य गरी सकेर भागेको देखिएको, पीडितको घाउचोटको प्रकृति मृत्यु हुन सक्ने (Fatal) प्रकृतिको देखिएको र त्यस्तो चोटको कारण अत्यधिक रक्तश्राव भएर समेत मानिसको मृत्यु हुन सक्ने स्थिति मिसिल संलग्न प्रमाणबाट स्पष्ट रुपमा पुष्टि भएको देखिँदा प्रस्तुत मुद्दाको वारदात कुटपिटसम्मको (अङ्गभङ्ग) मात्र नभई साबिक मुलुकी ऐन,ज्यानसम्बन्धी महलको १५ नम्बरमा वर्णन गरिएअनुरुप ज्यान मार्ने उद्योगकै रहेको देखिन आयो’ ।

मनाङे काठमाडौं जिल्ला अदालतको फैसलापछि ०६१ चैत १८ गतेदेखि ०६३ चैत १८ गतेसम्म हिरासत तथा कैदमा बसेका थिए भने पछि ०७५ साल वैशाख ६ गते पक्राउ परी पुस ६ गतेसम्म करिब ८ महिना थुनामा बसेका थिए । मनाङेले दुई पटकमा गरि २ वर्ष ८ महिना कैद सजाय भुक्तान गरिसकेको हुँदा अब उनी २ वर्ष ४ महिना कारागारमा रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्