काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विकसित नेपाली राजनीतिको घटनाक्रममा आधारित भएर प्रतिवेदन पेश गर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा आधारित भएर प्रत्येक सदस्यहरुलाई आफ्नो विचार प्रस्तुत गर्ने समय उपलब्ध गराइने पनि बताए ।
एमाले अध्यक्ष ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा गठबन्धन सरकार, सरकार सञ्चालन भएको ६ महिनाको उपलब्धी र आगामी दिनमा गर्नुपर्ने काम उल्लेख गरिएको नेता गौतमले बताए । नेता गौतमले ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने ३ महिने अभियानबारे पनि उल्लेख रहेको बताए ।
‘प्रधानमन्त्री तथा पार्टीका अध्यक्षज्यूबाट आजको समसामयिक विकसित नेपाली राजनीतिको सन्दर्भमा, त्यसको बहुआयमिक पक्षमा, खासगरी अहिले विकसित राजनीतिक घटनाक्रम, सरकार गठन, सरकारले गरेका काम र गर्नुपर्ने कामहरु, पार्टीको संगठनात्मक अवस्था, पार्टीको केन्द्रीय संगठन विभागले गरेको राष्ट्रिय कार्यशालाबाट निकालेको निष्कर्षहरु र त्यसले सञ्चालन गर्ने तीन महिने संगठनसम्बन्धि अभियानजस्ता आन्तरिक विषयमा केन्द्रीत भएर पार्टी अध्यक्षको तर्फबाट बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ,’– उनले भने ।