काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी मेन्स एलिट कपको उद्घाटन खेलमा विभागीय टिमद्धय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल भइरहेको छ । जनकपुरमा जारी खेलमा पुलिसले टस जितेर फिल्डिङको निर्णय लिएपछि आर्मीले पहिला ब्याटिङ गरिरहेको छ ।
टस हारेर ब्याटिङ गरिरहेको आर्मीले खराब प्रदर्शन गर्दै सुरुआतमा तीन विकेट गुमाएको छ । ताजा अवस्थामा आर्मीले ९ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १२ रन जोडेको छ । आर्मीका कुशल मल्ल ६ र भीम सार्की १ रन जोडेर खेलिरहेका छन् । त्यसअघि सोमपाल कामी ५ तथा सन्तोष कार्की १ र तृतराज दास शून्य रनमा नै आउट भएका थिए । यी तीनवटै विकेट ललितनारायण राजवंशीले लिएका हुन् ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट आजदेखि सुरु भएको हो । आजदेखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।