Logo

सीके राउतको ८ बुँदे आक्षेपपछि मधेशमा हलचल, गम्भीर छलफलमा जुट्दै कांग्रेस-एमाले



काठमाडौं । मधेश प्रदेशमा सत्ताको नेतृत्व गरिरहेको दल जनमत पार्टीले प्रदेश सरकारलाई सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले काम गर्न नदिएको भन्दै ८ बुँदामा असन्तुष्टि सार्वजनिक गरेपछि मधेशमा हल्लाखल्ला मच्चिएको छ ।

शनिबार जनमत पार्टीका अध्यक्ष सीके राउतको आधिकारीक फेसबुकबाट मधेशको सरकार परिवर्तनका लागि कांग्रेस र एमालेले प्रयास गरिरहेको, सरकारलाई काम गर्न नदिएको मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेको, प्रमुख दलका नेताहरु सचिवकहाँ धर्ना बस्न गएको लगायतका आरोप लगाएका थिए ।

ठूला दलका नेताहरूले आफू मुख्यमन्त्री बन्न पाइन्छ कि भनेर हरेक १०-१५ दिनमा जनमत नेत्तृत्वको सरकार हट्दैछ भनेर मिडियामा हल्ला चलाउने, सचिवहरूलाई कुनै पनि काम अगाडि नबढाउन ठूला दलका मधेश प्रदेशका नेताहरूले सचिवहरू कहाँ धर्ना दिने गरेको तथ्य भूल्न नहुने जनमतको भनाई थियो । जनमतले कुनै पनि मन्त्रालयका मन्त्रीहरूले मुख्यमन्त्रीलाई नटेर्ने, अनियमिततामा संलग्न हुने, तैपनि मुख्यमन्त्रीले ठूला दलको अनुमतिबिना उनीहरूलाई बरखास्त गर्न नसक्ने बाध्यता रहेको भन्दै दुई दलललाई गम्भीर आक्षेप लगाएका थिए ।

जनमतले गठबन्धन दलका मन्त्रीहरु अनियमिततामा संलग्न हुने गरेको गम्भीर आरोपसमेत लगाएको छ । ‘कुनै पनि मन्त्रालयका मन्त्रीहरूले मुख्यमन्त्रीलाई नटेर्ने, अनियमिततामा संलग्न हुने, तैपनि मुख्यमन्त्रीले ठूला दलको अनुमतिबिना उनीहरूलाई बरखास्त गर्न नसक्ने बाध्यता रहेको’ उल्लेख छ ।

अहिलेसम्म पुँजीगत बजेट खर्च हुन नसक्नुमा कांग्रेसका सुनिलकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय बाधक रहेको पनि आरोप जनमतले लगाएको छ ।

यता प्रमुख दल हुँदा हुँदै पनि सत्ताको नेतृत्व दिँदा पनि मिडियामा आक्षेप पोखेको भन्दै सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांग्रेस रुष्ट बनेका छन् । मधेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल हो । यद्यपि सरकार भने छैटौं दल जनमतको नेतृत्वमा छ । मधेशमा जनमतका सतिषकुमार सिंह मुख्यमन्त्री छन् ।

जनमतको आरोपपछि नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक छलफल गरिरहेका छन् । यी दुवै दलले जनमतलाई विस्थापित गर्दै कांग्रेसको नेतृत्वमा सरकार गठनको कसरत थाल्ने प्रयास गरेको स्रोतको दाबी छ । मधेशमा पहिले देखिनै कांग्रेसले सरकारको नेतृत्व लिने कसरत थालेको छ । हालसम्म मधेशमा कांग्रेस र एमालेले सरकारको नेतृत्व लिन सकेका छैनन् । यसपटक भने जनमतलाई विस्थापित गर्नेगरि दुई दल अघि बढ्ने तयारी गरेको स्रोतको भनाई छ ।

यता सत्तारुढ दल नेकपा एमालेले आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा पनि यो विषय उठाउने भएको छ । मधेशका केही नेताहरुले सरकार परिवर्तनको लागि पार्टीले पहल लिनुपर्ने भन्दै उक्त विषय उठाउन लागेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्