काठमाडौं, २१ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी अहिले सरकार बनाउने र गिराउने खेलमा नलागेर संगठन निर्माण र पार्टी पुनर्संरचनाको पक्षमा उभिएको बताएका हुन् । उनले कांग्रेस–एमालेको सरकार आफैं ढलेर देशलाई निकास दिनुपर्ने अवस्थामा मात्रै माओवादीले नेतृत्व लिने सुनाए ।
‘अहिले सरकार ढाल्ने खेलमा हामी छैनौं । सरकार भन्दापनि पार्टी गठन, पुनर्गठनको क्रममा हामी छौं । आफ्नै कारणले जिकज्याक भएर सरकार ढल्न सक्छ । त्यो बेलामा आवस्यक पर्यो भने सम्हाल्ने स्थितिमा हामी पुगौंला । तर, एउटा सरकार फेरेर अर्को सरकार बनाउने चक्करमा हामी छैनौं । हामी प्रतिपक्षको भूमिका निर्वाह गरेर जनताको मुद्दामा केन्द्रीत हुने हाम्रो जोड रहने छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले आजदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकमा माओवादी पृष्ठभूमिका र वामपन्थी पृष्ठभूमिका घटकहरुसँगको एकताबारे पनि छलफल हुने उनले बताए । एमालेले पनि इमानदारितापूर्वक वामपन्थी एकतामा उभिने हो भने माओवादी तयार छ भन्ने कुराको वैचारिक बहससहित आफूहरु अगाडि बढ्ने उनले बताए । एमालेुसँग पनि एकताको ढोका आफूहरुले बन्द नगरेको सचिव पौडेलको भनाइ छ । उनले एमालेसँग एकतामा जाने भनेर नै कांग्रेससँगको गठबन्धन तोडेको र पछिल्लो समय एमाले आफैं एकता प्रक्रियालाई छाडेर भागेको बताए ।
‘हामीले एमालेसँग एकता गर्ने भनेर नै गठबन्धन तोडेको हो । एमाले भागेको हो । एमालेभित्रका सम्पूर्ण साथीहरुलाई हाम्रो अनुरोध छ, हामी भागेको होईन । यो पटक एमालेको लिडरसीपको हैसियतले केपीजी एकताबाट भागेर नेपाली कांग्रेसको नेतृत्वबाट सहकार्य गर्न जानुभएको हो । अहिले पनि हामी त्यो कुराको बाबजुद पनि नेपालको वामपन्थी एकतालाई एकठाउँमा ल्याउन फेरि छलफल, वार्ता, कुराकानीमा हामी भाग्दैनौं । हाम्रोतर्फबाट केन्द्रीय समितिको बैठकले यो विषयमा पनि गम्भीर छलफल गरेर अगाडि बढ्छ,’– उनले भने ।
साथै, सचिव पौडेलले कांग्रेससँग कार्यगत एकताको पक्षमा आफूहरु रहेको सुनाए । कांग्रेससँग सुशासन, समृद्धि, सामाजिक न्यायको बाटो, समाजवादको पक्षमा कार्यगत एकता हुनसक्ने उनले सुनाए । तर, पनि माओवादीले बढी जोड चाहीँ आफ्नै संगठन निर्माणलाई दिइरहेको उनले सुनाए ।