Logo

कांग्रेस-एमाले मिलेपछि हैसियतभन्दा बढी लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न भयोः ओली



काठमाडौं, २१ पुस । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले मिलेपछि हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न हुन थालेको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै उनले तिनै तत्वहरु अहिले अस्थिरताको सुनियोजित प्रयासमा रहेको बताएका छन् ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ,‘दुई मुख्य राजनीतिक दलहरूबिच नयाँ राजनीतिक सहकार्य प्रारम्भ भएपछि, यो सहकार्य आगामी निर्वाचनसम्म दिगो रहने आधार बलियो बन्दै गएपछि र आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न भइरहेको छ ।’

तीमध्ये कतिपयलाई अस्तित्व सङ्कटको प्रश्नले त्रसित बनाएको पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनीहरुलाई ‘हङ पार्लियामेन्ट’ भित्र खेलिने झिंगेदाउको खेल अन्त्य हुने चिन्ताले सताएको ओलीको टिप्पणी छ ।

गत असार ३० साँझसम्म प्रधानमन्त्रीको कुर्सीमा रहेका प्रचण्डले देश समृद्ध बन्दै गरेको, अर्थतन्त्र लयमा फर्किएको र निराशाको मात्रै कुरा गर्न नहुने भाषण गरेको उल्लेख गर्दै ओलीले सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्ट्रमबाट नेपाल बङ्गलादेशजस्तै बन्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । उनले प्रचण्डको उक्त अभिव्यक्तिलाई अत्यन्त गैरजिम्मेवार, गैर–कुटनीतिक, अशोभनीय र राजनीतिक अवसरवादको भद्दा नमूना भनेका छन् ।

माओवादीले आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको कोशी प्रदेशको विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरेको, राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुयाउन उद्दत देखिएको र पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको ओलीको आरोप छ ।

माओवादी अहिले सरकारमा रहँदा आफैले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको ओलीको आरोप छ । माओवादीले प्रधानमन्त्रीको चीन भ्रमण र आफ्नै कार्यकालमा भएको सम्झौतालाईसमेत विवादित बनाउन खोजेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी केन्द्रमा वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका व्यक्त भइरहेको उनको टिप्पणी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्