Logo

उपनिर्वाचनबारे ओलीको प्रतिवेदन- ‘पहिलो भएको भन्दै माओवादीले भ्रम फैलायो, राजावादीको अवस्था झनै नाजुक’



काठमाडौं । सत्ताको नेतृत्व कर्ता दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आजबाट पार्टी मूख्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले समसामयीक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४३ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा ओलीले गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको बारेमा पनि उल्लेख गरेका छन् । अ‍ोलीले उक्त उपनिर्वाचनको परिणाम पार्टीका लागि उपलब्धिपूर्ण भएको उल्लेख गरेका छन् । ‘निर्वाचनमा नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडा अध्यक्ष सहित ८ स्थान मा जीत हासिल गर्यो । हामीले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलब्धिपूर्ण र सकारात्मक मान्नुपर्छ’ ओलीले भनेका छन् ।

एमालेले प्राप्त गरेको परिणाम अपेक्षाभन्दा कम भएको ओलीको प्रतिवेदनमा उल्लेख छ । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु, कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई गंभीरतापूर्वक लिनुपर्ने ओलीको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो प्रतिवेदनमा ओलीले उपनिर्वाचनको परिणाम पछि माओवादी केन्द्रले जनतामा भ्रम फैलाउने काम गरेको उल्लेख गरेका छन् । माओवादी पहिलो भयो र ह्वातै मत बढायो भन्ने भ्रम माओवादीले फैलाएको जिकिर गरेका छन् । ‘यस उपनिर्वाचन परिणामलाई लिएर नेकपा माओवादी केन्द्र ले एउटा भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयाश गरिरहेको छ– आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको आदि । माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो’ उनले प्रतिवेदनमा भनेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले उपनिर्वाचनले राजतन्त्र पक्षधरहरुको जनमत झनै कमजोर बनेको पुष्टि भएको जिकिर गरेका छन् । ‘७७जिल्ला समन्वय समितिर ७५३ पालिकाका कुल ८,४०३ जनप्रतिनिधिमध्ये ४४ पदमा भएको र कुल २,२६,७९९ मतदाता (१.२६ प्रतिशत) ले मतदान गरेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठूलो पूर्वानुमान गर्दैन । तर पनि २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरूको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरूको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ’ ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्