Logo

आर्मीलाई ध्वस्त बनाउन ललितले लिए ७ विकेट, १२१ रनमै अलआउट



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको आर्मी १२१ रनमै अलआउट भएको छ । आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको हो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए । अब केही समयपछि पुलिसले आफ्नो पहिलो इनिङ्स खेल्नेछ । दुई दिवसीय क्रिकेट घरेलु मैदानमा लामो समयपछि फर्किएको हो । तर, रेड बल क्रिकेटमा नेपाली ब्याटरहरू भने टिक्न सकेनन् ।

बलिङतर्फ पुलिसका ललित राजवंशी एक्लैले ७ विकेट चट्काउँदा आर्मीको पाली ध्वस्त भयो । ललितले १४।४ ओभर बलिङ गर्दा ४ मेडन राख्दै ४७ रन खर्चिएर ७ विकेट लिए । यस्तै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक एक विकेट लिए ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट आजदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

एलिट कपका लागि पुलिसले आरिफ शेख, आर्मीले विनोद भण्डारी, बागमतीले सन्दीप लामिछाने र मधेशले हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्