Logo

कसैले चुनौती दिन नसक्ने पार्टी बनाउने एमालेको लक्ष्य, २ लाख सदस्य थप्न यस्तो छ वडा–केन्द्रित पार्टी निर्माण अभियानको योजना



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले वडा–केन्द्रित पार्टी निर्माण अभियान – २०८१ को अवधारणा पत्र सार्वजनिक गरेको छ ।

आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा संगठन विभाग प्रमुख काशिराम अधिकारीले पेश गरेको अवधारणापत्रमा कसैले कहिल्यै चुनौती दिन नसक्ने बलियो एमाले बनाउनका निमित्त नै स्थानीय स्तरबाटै पार्टी काम र संगठनलाई सबल बनाउन तीन महिना वडा–केन्द्रित पार्टी निर्माण विशेष अभियान सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

एमालेले कसैले कहिल्यै चुनौति दिन नसक्ने बलियो एमाले बनाउने र मुख्य रुपमा यस अभियानका जग तहमा पार्टी सदस्यता नवीकरण, बिस्तार, संगठन निर्माण र सबलीकरण गर्ने, आधारभूत तहमा जनसंगठनका कमिटी निर्माण तथा सदस्यता बिस्तार गर्ने,पार्टी नीति तथा नेतृत्व विरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबैखाले प्रयत्नहरुको सबै तहमा तत्काल प्रभावकारी प्रतिवाद गर्ने र पार्टी जीवनको शुद्दीकरण, स्थानीय तहको पार्टी नेतृत्वको क्षमता विकास र जनतामाझ नेतृत्व स्थापित गर्ने उदेश्य तय गरेको छ ।

एमालेले पार्टीमा थप २ लाख सदस्य थप्ने पनि लक्ष्य लिएको छ । पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरुले आ–आफ्नो पार्टी सदस्यता २०८१ चैतभित्रै नवीकरण गर्ने र ९० प्रतिशत पार्टी सदस्यहरु अनलाइनमा आउने लक्ष्य राखेको छ ।

२ लाख पार्टी सदस्यता थप गर्नका लागि एमालेले वडामा बसोबास गर्ने सबै तहका पार्टी तथा जनसंगठनका नेता, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि, गत स्थानीय र संसदीय निर्वाचनमा उपविजेता भएका उम्मेदवारहरु, स्थानीय वडा तथा टोलस्तरका कमिटीमा आवद्द समेत २ लाख नेता कार्यकर्ताले न्युनतम १५ लाख घर परिवारमा प्रत्यक्ष भेटघाट, संवाद र पार्टीको सन्देश प्रवाह गर्ने उल्लेख गरेको छ । २०८४ मा मतदाता बन्ने १० लाख युवाहरुमाझ पार्टीको स्थानीय युवा नेतृत्वले विद्यालय, कलेज, समुदाय आधारित संवाद, भेटघाट कार्यक्रम गरी पार्टी सन्देश र प्रभाव विस्तार गर्ने र स्थानीय घर दैलो भेटघाट जन संवाद कार्यक्रमबाट ६० लाख मतदातामाझ पार्टी पंक्ति पुग्ने उदेश्य लिएको छ ।

एमालेले अभियान घोषणाको पहिलो १० दिनभित्र सबै प्रदेश कमिटीले प्रदेश कमिटीका सदस्यहरुलाई तोकिएको पालिका, जनसंगठन तथा जिम्मेवारीको स्पष्ट कार्यादेश, परिणाममा आधारित कार्यसम्पादन– सुचक सहित प्रदेशस्तरीय अभियान कार्यतायलिका निर्माण गरी कार्यान्वयन निर्देशन गर्ने योजना अघि सारेको छ ।

दोस्रो १० दिनभित्र जिल्ला कमिटीले जिल्ला तहबाट तोकिएको वडा÷शाखा, जनसंगठन तथा जिम्मेवारीको स्पष्ट कार्यादेश, परिणाममा आधारित कार्यसम्पादन–सुचक सहित जिल्लास्तरीय अभियान कार्यतायलिका निर्माण गरी कार्यान्वयन निर्देशन गर्ने एमालेको कार्यक्रममा उल्लेख गरिएको छ । त्यसपछि सबै पालिकास्तरका कमिटीले पालिका÷इलाका तहबाट टोल÷प्रारम्भिक कमिटी, जनसंगठन, जनप्रतिनिधि, निर्वाचनका उपविजेता उम्मेदवारहरु समेतलाई समावेश गरी कार्यटोली बनाइ स्पष्ट कार्यादेश, परिणाममा आधारित कार्यसम्पादन –सुचक सहित पालिका÷इलाका स्तरीय अभियान कार्यतायलिका निर्माण गरी कार्यान्वयन गर्ने योजना अघि सारेको छ ।

अभियानको दोस्रो र तेस्रो महिनाभर अभियानका कार्यक्रमहरु मुख्य रुपमा सदस्यता नवीकरण, विस्तार, संगठन निर्माण प्रशिक्षण, अन्तरक्रिया, घर दैलो भेटघाट, जनसंवाद, जनताका समस्या संकलन, सामाजिक सञ्जाल, डिजिटल सञ्चार अभियान सञ्चालन गर्ने एमालेको उदेश्य छ । जनसंगठनका स्थानीय नेताहरु जनताका माग–मुद्धामा केन्द्रित हुनेछन् र आ–आयनो समुदायमा खोजिने नेताका रुपमा स्थापित हुने एमालेको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्