काठमाडौं, २१ पुस । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । उनी पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का विभिन्न बैठकहरुमा आमन्त्रित सदस्यको रुपमा सहभागी हुने गरेका छन् । आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पनि पासाङ उपस्थित भएका छन् । माओवादीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गरेर पासाङलाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको पनि चर्चा हुन थालेको छ ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार पासाङलाई सक्रिय राजनीतिमा ल्याउनेबारे पार्टीभित्र निर्णय भइसकेको छ । पासाङले आफू अहिले नै रिटायर्ड जीवन बिताउन नचाहेको बताएपछि उनलाई सक्रिय राजनीतिमा ल्याउने निर्णय भएको सचिव पौडेलले बताए । पासाङकै प्रस्तावअनुसार अहिले आमन्त्रित सदस्यको रुपमा उनलाई बैठकहरुमा बोलाउन थालिएको सचिव पौडेलले बताए । पासाङलाई सक्रिय राजनीतिमा आउन संविधान र कानुनले नछेकेको पनि सचिव पौडेलले सुनाए ।
‘उहाँ युवा हुनुहुन्छ । कुनै कानुन, संविधानले आउन हुँदैन भनेर लेखेको पनि छैन । म सक्रिय हुन्छु, म जागरुक हुन्छु, मेरो उमेर पनि छ, म रिटायर लाइफ बिताउन सक्दिनँ भनेको हुँदाखेरी फेरि जनताको पक्षमा, देशको पक्षमा, पार्टी निर्माणको पक्षमा उहाँले आफूलाई सक्रिय बनाउनुहुन्छ भनेदेखि कहीँ न कहीँ कानुनले नछेकेको हुँदा सक्रिय बनाउनुपर्छ भन्ने पक्षमा हामी छौं । उहाँ आमन्त्रित रुपमा पार्टीको बैठकहरुमा आउन पनि थाल्नुभएको छ,’– नेता पौडेलले भने ।
उसो त गत मंसिर १९ गते गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रममा नै पासाङले आफू सक्रिय राजनीतिमा आउन लागेको संकेत गरेका थिए । जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत रहेका पासाङले व्यवस्थाको रक्षाका लागि आफू फेरि ‘रातो मान्छे’ बनेर उभिन तयार रहेको बताएका थिए । कसैले प्राप्त उपलब्धी उल्ट्याउन चाहन्छ भने त्यसको प्रतिरोध गर्न तयार रहेको भन्दै उनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायत उपलब्धी उल्ट्याउने दुस्साहस नगर्न चेतावनीसमेत दिएका थिए ।
‘यो गणतन्त्रको रक्षाका लागि अझ दृढतापूर्वक लड्नुपर्ने जरुरी छ । अहिलेको उपलब्धी कसैले उल्ट्याउन चाहन्छ भने तपाईँ /हामी सबै आगो बन्न तयार हुनुपर्छ । म यो गणतन्त्रको योद्धा हुँ । प्रक्रियावादीहरुले जाल, षड्यन्त्र गरेर प्राप्त उपलब्धिहरुलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक समावेशी र यो संघीयतालाई फेरि दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु । विगतमा मैले जे–जे गरेँ, त्यो भन्दा नयाँ उचाइबाट मैले नेतृत्व गर्न सक्छु भन्ने साहस मसँग छ,’– उनले सो क्रममा भनेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पासाङलाई सकृय राजनीतिमा ल्याएर उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई साइजमा राख्न खोजेको पनि चर्चा चलिरहेको छ । उसो त प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा भित्र्याउन चाहन्थे । विप्लवलाई शक्तिशाली महासचिव बनाउने र पार्टीलाई थप गति प्रदान गर्ने प्रचण्डको तयारी थियो । तर, विप्लवसँग तत्काल एकताको सम्भावना टरेपछि प्रचण्डले अन्तत: पासाङलाई पार्टीमा इन्ट्री गराएका हुन् ।
माओवादीले पासाङलाई सक्रिय राजनीतिमा ल्याउनुको अर्को पक्षबारे पनि छलफल हुन थालेको छ । पासाङलाई सक्रिय राजनीतिमा ल्याएर प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको लागि मार्ग खुला गरिदिएको पनि चर्चा हुन थालेको छ । सिंगो माओवादी एमालेको नेतृत्वसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर ‘पासाङ तीर’ फ्याँकेका छन् । पासाङ माओवादीको सक्रिय राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रपति राजनीतिमा फर्किन हुँदैन भन्ने भाष्य ब्रेक भएको छ ।
यो पनि पढ्नुहोस्ः ‘डेपुटी कमान्डर’ को इन्ट्रीले माओवादीमा खैलाबैला
उसो त विद्यादेवी भण्डारीले पनि सक्रिय राजनीतिमा फर्किन वार्मअप गरिरहेकी छन् । एमालेको अब हुने ११औं महाधिवेशनबाट पार्टीको नेतृत्व हत्याउने उनको तयारी रहेको बताईन्छ । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीलाई ओलीबाट हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका नेताहरूले नेतृत्वमा फर्किन आग्रह गरिरहेका छन् । उनीहरू जसरीपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीसमेत बनाउन चाहन्छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्रीसमेत रहेका नेता कर्णबहादुर थापालगायतका शीर्ष नेताहरु पनि भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । भण्डारीकै जोडबलमा राष्ट्रिय सभा सदस्य हुँदै परराष्ट्रमन्त्रीसमेत बनेकी डा. विमला राई पौड्यालसमेत निरन्तर भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन सक्रिय छिन् ।
भण्डारी स्वयंले पनि विभिन्न बहानामा पार्टी राजनीतिमा फर्किन सक्रियता देखाइरहेकी छन् । गत वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको ‘गणतन्त्र गौरव’ सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भातृ संगठनहरुले आयोजना गरेका कार्यक्रमहरुमा प्रमुख अतिथिको रूपमा देखा पर्न थालेकी छन् । राष्ट्रपति हुँदासमेत नेकपा र एमाले विभाजन हुन नदिन शीतलनिवासबाटै अतिरिक्त सक्रियता देखाएकी भण्डारी अहिले राजनीतिमा फर्किएर सके पुरानै नेकपा व्यूताउने र नभएपनि एमालेलाई पुनर्गठन गर्ने ध्येयमा छिन् । यसका लागि उनी निरन्तर पोलिटिकल वार्मअप गरिरहेकी छन् ।
कूटनीतिमा माहिर र राजनीतिका निकै चतुर खेलाडी मानिने प्रचण्डले पासाङलाई सक्रिय राजनीतिमा ल्याएर ओलीतर्फ तीर सोझ्याएको चर्चा हुन थालेको छ । भण्डारी सक्रिय राजनीतिमा फर्किए एमालेमा ओलीको हैकमवादी शासन अन्त्य हुने धेरैको अनुमान छ । ओली भने भण्डारी सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् । पार्टीको संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्किँदा नै उपयुक्त हुने धारणा राखेर उनको राजनीतिक बाटो बन्द गराउने सन्देश दिइसकेका छन् । भण्डारीले पार्टी राजनीतिमा फर्किन सदस्यता नवीकरण गरिसकेको समेत चर्चा भएको थियो ।
पछिल्लो समय नेपाली कांग्रेसको बुइ चढेर सत्ता हत्याएका ओली निकै कमजोर र रक्षात्मक अवस्थामा पुगेका छन् । यसको पछिल्लो उद्धारण ओलीले दिनदिनै सरकार ढल्दैन भनेर स्पष्टीकरण दिइरहनु परेको छ भने कांग्रेसका नेताहरुले सत्ताको चाबी आफूहरुसँग रहेको अभिव्यक्ति दिइरहेका छन् । कांग्रेसका नेताहरु गगन थापा, कृष्णप्रसाद सिटौलालगायतले ओली थपनामात्रै रहेको र नीतिगत निर्णय कांग्रेसको इन्ट्रेस्टमा हुने गरेको सार्वजनिक कार्यक्रममै बताउने गरेका छन् । सत्ता हत्याएसँग ओलीको व्यक्तित्व निरन्तर ओरालोतर्फ छ । यसअघि पार्टीभित्र सबैका स्वघोषित ‘बा’ को रुपमा स्थापित ओली भण्डारी राजनीतिमा फर्किए आगामी महाधिवेशनबाट विस्तापित हुने निश्चित छ ।
यो पनि पढ्नुहोस्ः पासाङ सक्रिय राजनीतिमा फर्किए, जिम्मेवारीबारे केन्द्रीय समितिमा छलफल हुने