Logo

भीम रावलको पक्षमा उभिए एमालेका दुई केन्द्रीय सदस्य, संगठित सदस्यता खोस्ने निर्णय फिर्ता लिन माग



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ । हिजोबाट सुरु भएको बैठक आज सकिने बताईएपनि बोल्ने नेताहरु धेरै रहेको हुँदा कम्तीमा पर्सीसम्म लम्बिन सक्ने एक नेताले जानकारी दिए । जारी बैठकमा आज प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

ओलीले आइतबार ४३ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । आइतबार २७ जना नेताहरुले आ आफ्नो धारणा राखेका थिए । २७ जना नेतामध्ये दुई जना सदस्यले हालै एमालेबाट निस्कासितमा परेका नेता डा भीम रावलको पक्षमा आवाज उठाएका छन् । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपट रावलले पार्टी सचिवालयको सो निर्णय फिर्ता लिनुपर्ने माग राखेका हुन् ।

गत साता बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोस्दै बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णय फिर्ता लिन रावल र शाहले माग गरेका हुन् । रावल भीम रावलका आफ्नै भतिज हुन भने शाह पनि विगतमा रावलका कट्टर समर्थक भनेर चिनेन्थे ।

आइतबारको बैठकमा शाह बढी रावलको पक्षमा खुलेको स्रोतले जनाएको छ । ‘पार्टी निर्माणमा भीम रावलको पनि योगदान छ । उहाँलाई निष्कासन गर्ने निर्णयको प्रभाव ग्रासरुटमा पर्नसक्छ । सुदूरपश्चिममा पार्टीको प्रभावक्षेत्र बिग्रिनसक्छ । त्यसैले कारबाही फिर्ता लिनुपर्छ ’ बैठकमा शाहले भनेको उद्धृत गर्दै स्रोतले भन्यो ।

शाहपछि बोलेका रावलले पनि घुमाउरो ढंगबाट कारबाही फिर्ता हुनुपर्ने बताएका थिए । ‘समस्याको समाधान सहज ढंगले निकाल्नु राम्रो हुन्छ । सचिवालय बैठकको निर्णय पुर्नविचार होस्’ उनले भनेका थिए ।

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बाँकी सदस्यले आज पनि धारणा राख्ने एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्