Logo

एमालेको आरोपमा माओवादी नेता दाहालको प्रतिवादः राजावादीसँग बरु केपी ओलीको उठबस छ भन्न मिल्छ (भिडिओसहित)



काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सामन्तवादका प्रतिनिधि संस्था राजसंस्थासँग आफूहरुले कहिल्यैपनि उठबस नगरेको र नगर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले राजसंस्थाविरुद्ध हतियार उठाएको उनले बताए । नेता दाहालले गणतन्त्रको मुद्दा उठाउने र संस्थागत गर्ने पार्टी माओवादीलाई राजसंस्थासँगको उठबसको आरोप लगाउनु सत्य नरहेको बताए ।

नेता दाहालले बरु प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र नचाहँदा नचाहँदै आएको बताए । ओलीले तत्कालीन समयमा ‘बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो, सम्भव छैन, कुइनाले पहरो भत्किँदैन, राजसंस्थाको विरुद्ध अहिले लड्न समय आएको छैन’ लगायतका अभिव्यक्ति दिएको र गणतन्त्रको आन्दोलनमा एक रतिपनि योगदान नरहेको उनको भनाइ छ । ओलीले राजावादीसँग माओवादीको बसीउठ छ भनेर लगाएको आरोप कसैले पनि पत्याउन नसक्ने उनको भनाइ छ । प्रचण्डको व्यक्तित्वलाई स्वीकार गर्न नसकेर ओलीले विभिन्न आरोप लगाएको नेता दाहालको भनाइ छ ।

‘सामन्तवादको प्रतिनिधि संस्था राजसंस्थाको विरुद्ध विद्रोह गर्ने पार्टी, हतियार उठाउने पार्टी, संघीयता र गणतन्त्रको मुद्दा उठान गर्ने र संस्थागत गर्ने पार्टी र नेतृत्वलाई आरोप लगाउन मिल्छ ? उहाँलाई भन्न मिल्छ बरु । बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो, सम्भव छैन, कुइनाले पहरो भत्किँदैन, राजसंस्थाको विरुद्ध अहिले लड्न समय आएको छैन भनेर मैले भाषण गरेको हो र ? १९ दिने जनआन्दोलनमा केपीजीको एउटा भाषण ल्याउनुस् न त । सडकमा हिँडेको एउटा फोटो ल्याउनुस् त तपाईँले ?’ उनले भने ।

नेता दाहालले ओलीले गर्ने अनुमानहरु मनोगत हुने र सत्यको नजिक नहुने बताए । ओलीले माओवादीविरुद्ध विगतदेखि नै विभिन्न आरोप लगाउँदै आएपनि अहिलेसम्म कुनैपनि प्रमाणित हुन नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्