काठमाडौं । जय ट्रर्फी मेन्स एलिट कप दुई दिवसीय क्रिकेट अन्तर्गत मधेश प्रदेश र बागमती प्रदेशबीचको खेलमा बागमतीले पहिलो पालीमा ४८ रनको फराकिलो अग्रता लिएको छ । जनकपुरमा जारी खेलमा दोस्रो दिन बागमती ३५ ओभरमा १५० रन जोड्दा अलआउट भयो । यसअघि आइतबार मधेश प्रदेश १०२ रनमै अलआउट भएको थियो ।
पहिले ब्याटिङ गरेको मधेश सस्तैमा समेटिएपछि बागमती जवाफी ब्याटिङमा उत्रिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बागमतीले सम्हालिएको प्रदर्शन गर्न नसकेपनि अग्रता भने बनाएको छ । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४७ रन जोडे । ५५ बलको सामना गरेका उनले ६ चौका र १ छक्का पनि हिर्काए । कप्तान सन्दीप लामिछानेले ३३ रन जोडेको खेलमा शुभ कंशाकरले ३५ तथा रिजन ढकालले १३ रन थपे ।
बलिङमा मधेशका रुपेश सिंह र अभिषेक तिवारीले समान ४४ तथा विशाल पट्टेल र रञ्जित कुमारले १ पिवकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेश ३५।३ ओभरमा १०२ रनमा अलआउट भयो । उसका लागि मयन यादवले सर्वाधिक २१ तथा विशाल पट्टेलले १६ न जोडेका थिए । ब्याटिङमा चम्किएका बागमतीका कप्तान सन्दीप् लामिछाने बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उनले १४ ओभर फ्याँक्दै ४१ रन दिएर ५ विकेट लिए । २ मेडन पनि राख्न उनी सफल भए । सूर्य तामाङको नाममा पनि २ विकेट रह्यो ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट हिजोदेखि जारी छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।
एलिट कपका लागि पुलिसले आरिफ शेख, आर्मीले विनोद भण्डारी, बागमतीले सन्दीप लामिछाने र मधेशले हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छन् ।