काठमाडौं, २२ पुस । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले एमालेसँग जोडिएपछि व्यवसायी मिनबहादुर गुरुङको दशा सकिएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यवसायी गुरुङ एमालेमा नजोडिउन्जेलसम्म भाटभटेनीमा एमालेको शेयर छ भनेर सबैले किनमेल गर्नै छाडेको उनले टिप्पणी गरे ।
‘मिनबहादुर गुरुङलाई दशा लागेको थियो । जति भाटभटेनी छन्, त्यसमा प्रचण्डको शेयर छ भनेर एमाले र कांग्रेसले किन्दैनथे । जब एमालेसँग मिनबहादुर गुरुङ जोडिनुभयो नि त्यसपछि उहाँको दशा आउट भयो,’– उनले भने ।
साथै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई दान दिने र सहयोग गर्नेलाई देशभक्त, क्रान्तिको पक्षधर भन्ने गरेको र अरुको पार्टीलाई सहयोग गर्नेलाई दलालको संज्ञा दिनेगरेको उनले बताए । उनले मिनबहादुरलाई दानवीरको संज्ञा दिए । ललिता निवासमा मिनबहादुरले पाँचैं व्यक्तिबाट जग्गा किनेको उनले बताए ।
‘उहाँले ललिता निवासको जग्गा पाँचौं पाटीबाट किन्नुभएको हो । त्यो मुद्दा अदालतमा विचाराधीन भएको र सरकारवादी मुद्दा भएको हुनाले विवाद भयो, अदालतले भन्यो त्यो छुट्टै कुरा हो । मिनबहादुर गुरुङले कसैलाई जग्गा दान दिनु, सित्तैमा मान्छे डटपेन त दिँदैन । भारतमा रतन टाटालाई दानवीर भनिन्छ । हाम्रोमा आफ्नो पार्टीलाई दियो भने देशभक्त भनिन्छ । अर्काको पार्टीलाई दियो भने दलाल भनिन्छ । प्रचण्डको परिभाषा हो त्यो,’– उनले भने । File Photo/RN