काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेसम्म डेमोक्रेटिक भइनसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस महामन्त्रीलाई पोखरामा रास्वपाका कार्यकर्ताले विरोध गरेको भन्दै यस्तो बताएका हुन् । नेता राय यादवले सबै व्यक्तिलाई संविधानले स्वतन्त्र रुपमा घुमघाम गर्ने र विचार राख्ने अधिकार दिएको रास्वपाका नेता तथा कार्यकर्ताले ख्याल नगरेको बताए ।
‘संविधानले हरेक नेपालीलाई मेचीदेखि महाकालीसम्म स्वतन्त्र रुपमा घुम्ने, विचार राख्ने अधिकार दिएको छ । उहाँहरु अहिलेपनि डेमोक्रेटिक भइसक्नुभएको छैन । संविधानलाई मानिराख्नुभएको छैन । कांग्रेसजस्तो पार्टीको महामन्त्रीलाई उहाँहरुले विरोध गर्नु संविधान प्रदत्त हो त ?’ प्रश्न गर्दै उनले भने ।
साथै, नेता यादवले वर्तमान सरकार आगामी २०८४ को चुनावसम्म अगाडि जाने उनले बताए । चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने उनले बताए । जनताको समस्या समाधानका लागि कांग्रेसको सरकार चाहिने उनले बताए । कांग्रेसले १० वर्ष सरकारको नेतृत्व गर्ने हो भने देशमा कायापलट हुने, बेरोजगारीको समस्या समाधान हुने, विकासको गति अगाडि बढ्ने उनले बताए ।
‘जनताको समस्या समाधानको लागि नै कांग्रेसको सरकार चाहिन्छ । अहिलेसम्म विकास निर्माणका जति प्रक्रियाहरु भएको छ, जग बसेको छ, सबै कांग्रेसको योगदान हो । कांग्रेस जहिले–जहिले बहुमतमा आएको छ, रोजगारीदेखि लिएर विकास निर्माणको काम गरेको छ । जनताले कांग्रेसलाई बहुमत नै दिन सकिरहेको छैन । कांग्रेसले १० वर्ष सरकार चलाउने हो भने बेरोजगारीको समस्या समाधान हुन्छ, विकास निर्माणको काम अगाडि बढ्छ,’– उनले भने ।