काठमाडौं, २२ पुस । सिंहदरबार परिसरबाट ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । सिंहदरबारको दक्षिण गेटमा धर्ना बस्न गएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।
चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा सरकार गैरजिम्मेवार बनेको भन्दै उनी धर्ना बस्न गएका थिए । उनल धर्ना बस्न जानुअघि सामाजिक सञ्जालमा लेखेका थिएः
लिपुलेक प्रकरणमा ग्रेटर नेपाल धर्नामा
लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२ः०० बजेदेखि ४ः०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।