काठमाडौं । पर्सा र जनकपुरमा जारी जय ट्रर्फी मेन्स एलिट कप क्रिकेटमा मधेश प्रदेशका खेलाडी मयन यादवले अर्धशतक प्रहार गरेका छन् ।
दोस्रो दिनको खेलमा बागमती प्रदेशविरुद्ध ब्याटिङ थालेको मधेशका लागि मयनले ५३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए । जारी प्रतियोगीतामा अर्धशतक हिर्काउने मयन दोस्रो खेलाडी बनेका छन् । यसअघि आजै आर्मीका सोमपाल कामीले पनि पुलिसविरुद्ध अर्धशत हिर्काएका थिए ।
ताजा अवस्थामा मधेशले १८ ओभरमा ४ विकेट गुमाएर १०१ रन जोड्दै ५३ रनको अग्रता बनाएको छ । आइतबार भएको पहिलो पालीमा मधेश ४८ रनले पछाडि परेको थियो ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट हिजोदेखि जारी छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।
एलिट कपका लागि पुलिसले आरिफ शेख, आर्मीले विनोद भण्डारी, बागमतीले सन्दीप लामिछाने र मधेशले हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छन् ।