काठमाडौं । जनकपुर र पर्सामा जारी जय ट्रफी एलिट कप क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले नेपाल पुलिसलाई १७२ रनको लक्ष्य दिएको छ ।
पहिलो पालीमा चार रनले पछि परेको अवस्थामा पहिले ब्याटिङ गरेको आर्मी ५३ ओभरमा १७५ रनमा अलआउट भयो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ८२ रन जोडे । १३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का हिर्काए । सोमपाल जारी एलिट कपमा अर्धशतक हिर्काउने पहिलो खेलाडी हुन् ।
सोमपाल बाहेक आर्मीका लागि तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन थपे । बलिङतर्फ पुलिसका कुशल भूर्तेलले ४ तथा गुल्सन झाले ३ र ललित राजवंशीले २ विकेट लिए ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट हिजोदेखि जारी छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।
एलिट कपका लागि पुलिसले आरिफ शेख, आर्मीले विनोद भण्डारी, बागमतीले सन्दीप लामिछाने र मधेशले हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छन् ।