Logo

सहरी क्षेत्रमा जनमत बढाउन प्रचण्डको १३ बुँदे एजेण्डा, सुकुम्बासी समस्यादेखि मनोरञ्जन पार्कसम्म



काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन र प्रस्तावहरु पेश गरेका छन् । प्रचण्डले काठमाडौं उपत्यकाको जनमत बढाउन विभिन्न १३ बुँदामा एजेण्डाहरु अगाडि सारेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर गरी कूल १५ वटा निर्वाचन क्षेत्र रहेकोमा गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी सबैमा पराजीत भएको थियो । ती जिल्लामा २१ वटा स्थानीय तह रहेकोमा माओवादीले चन्द्रागिरी–२ मा वडा अध्यक्ष र ललितपुरको २ स्थानीय तहको उपप्रमुख जितेको छ । यसरी माओवादीले सहरी इलाकाबाट विश्वास गुमाउँदै गएको छ ।

प्रचण्डले केन्द्रिय समितिमा प्रस्तुत कार्ययोजनामा सहकारी क्षेत्रमा जनमत बढाउन विभिन्न १३ वटा एजेण्डा अगाडि सारेका छन् । जसमा उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरुको सम्मान र जगेर्ना, व्यवस्थित सहरीकरण र बसोबास, पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास रहेका छन् ।

त्यस्तै, सबैभन्दा ठूलो समस्या र चूनौतिको रुपमा देखिएको फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणलाई पनि माओवादीले एजेण्डा बनाएको छ । खानेपानी र ढल निकासको व्यवस्था, बागमती सभ्यताको विकास, उपत्यकाका मूल बासीहरुमाथिको उत्पीडन, सार्वजनिक यातायातको व्यवस्थापनलाई पनि प्रचण्डले अगाडि सारेका छन् ।

प्रचण्डले नदी किनारका वस्तीहरुको व्यवस्थापन, सुकुम्बासी समस्या, दैनिक सेवा प्रवाहको समस्या, स्वबासी एवं सामुदायीक गुठीहरुको समस्या र हरियाली मनोरञ्जन पार्कलाई पनि एजेण्डाको रुपमा अगाडि सारेका छन् ।



प्रतिक्रिया दिनुहोस्