काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेशले बागमती प्रदेशलाई १६४ रनको लक्ष्य दिएको छ । मधेश प्रदेशले पहिले ब्याटिङ गर्दै ९ विकेटमा २११ रन बनाउँदा पारी सकिएको घोषणा गर्दै बागमतीलाई १६४ रनको लक्ष्य दिएको हो । मधेशका लागि मयन यादवले शतक बनाएका छन् ।
मधेश प्रदेशका मयन यादवले बागमती प्रदेशविरुद्ध दोस्रो पारीमा शतक बनाएका हुन् । मधेशका ओपनर उनले १०८ बलमा १०६ रन बनाए । उनी जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभर फ्याँक्दै ८८ रन खर्चिएर ५ विकेट लिए । पहिलो पालीमा पनि उनले ५ विकेट नै लिएका थिए ।
मधेशले पहिलो पारीमा १०२ रन बनाएको थियो भने बागमतीले पहिलो पारीमा १५० रन बनाएको थियो ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट हिजोदेखि जारी छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।
एलिट कपका लागि पुलिसले आरिफ शेख, आर्मीले विनोद भण्डारी, बागमतीले सन्दीप लामिछाने र मधेशले हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छन् ।