काठमाडौं, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको बताएका छन् । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका उनले बयानका क्रममा आफूले संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम नगरेको र सहकारीको एक रुपैयाँ पनि नखाएको बताएका हुन् । ‘मैले सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम गरेको छैन । मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन । त्यतिबेलासम्म मलाई गितेन्द्रबाबु राईको सहकारी छ भन्ने जानकारी पनि थिएन,’– उनले भनेका छन् ।
साथै, स्वर्णलक्ष्मीमा गितेन्द्रबाबु राई र आफू रहेको संयुक्त खाताबारे पनि उनले अनभिज्ञता प्रकट गरेका छन् । लामिछानेले खाता खोल्ने कुनैपनि प्रक्रियामा आफू सहभागि नरहेको बताउँदै खाता खोल्न निवेदन दिने र खाता सञ्चालन गर्ने व्यक्ति आफू नरहेको जवाफ दिएका छन् । ‘खाता खोल्ने कुनै पनि प्रक्रियामा म सहभागि नभएको हुँदा मेरो सहभागिता विनानै के कुन कारणले मेरो नाम उल्लेख भयो, मलाई जानकारी छैन । उल्लिखित खाता खोल्ने, खाता खोल्न निवेदन दिने र खाता सञ्चालन गर्ने व्यक्ति म होईन,’– उनले भनेका छन् ।
स्वर्णलक्ष्मी सहकारीमा खाता खोल्न आफूले हस्ताक्षर, औंठाछाप, केवाईसीलगायतका कुनैपनि प्रक्रियामा सहभागी नभएको उनले जवाफ दिएका छन् । उनले विना उपस्थिति, विना धितो खोलिएको ऋण खाता प्रथम दृष्टि मैं फर्जी रहेको दाबी गरेका छन् ।
लामिछानेले विभिन्न अनुसन्धान र प्रतिवेदनहरूले गितेन्द्र बाबु राई संलग्न रहेको सहकारी संस्थाहरूमा कीर्ते गरी विधि प्रक्रिया नपुयाई सयौँ मानिसको नाममा नक्कली खाता खोली उनीहरूलाई नक्कली ऋणी बनाइएको भनी सार्वजनिक भएको आफू थाहा पाएको बताउँदै आफ्नो सन्दर्भमा पनि फर्जी खाता खोलिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
उनले सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितको प्रतिवेदनको सहारा लिँदै बयानका क्रममा भनेका छन्, ‘संसदीय छानविन समितिको प्रतिवेदनबाट नै स्पष्ट हुन्छ की–कुनै पनि सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.मा रकम ल्याउने सम्पुर्ण प्रक्रियामा मेरो संलग्नता छैन, यसर्थ सहकारीसँग सम्बन्धित विषयहरू के कसो हुन्, मलाई थाहा जानकारी हुने कुरा भएन ।’
बचतकर्ताहरूको रकम फिर्ता हुनुपर्छ भन्ने कुरामा आफ्नो फरकमत नरहेको, तर सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न व्यक्ति आफू नभएको उनको जवाफ छ । उनले सहकारीको बारेमा उठेका प्रश्न र व्यक्तिहरूबारे आफूलाई जानकारी नरहेको बताएका छन् । File Photo/RN