काठमाडौं, २२ पुस । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई सक्रिय राजनीतिमा ल्याउने विषय नेकपा (माओवादी केन्द्र) भित्रै विवादित बनेको छ । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले पासाङलाई राजनीतिमा ल्याउन नहुने तर्क अगाडि सारेका छन् । पूर्वमन्त्री समेत रहेका नेता सुदन किरातीले उपराष्ट्रपति भइसकेका व्यक्तिलाई राजनीतिमा ल्याएर उसको कद घटाउन नहुने तर्क बैठकमा प्रस्तुत गरे ।
पासाङलाई राजनीतिमा ल्याउने कुराले जनतामा राम्रो सन्देश नजाने नेता किरातीको भनाइ छ । आफूलाई पार्टीको भावी नेतृत्व दाबी गर्दै आएका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि पासाङ सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् । गत स्थायी कमिटी बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी भएका पासाङलाई देखेर नेताहरुले मुखामुख गरेका थिए । उनलाई पार्टीभित्र दिइने पदबारे धेरै नेताहरुले स्थायी कमिटी बैठकमै कानेखुसी गरेको बताइन्छ ।
पासाङ सक्रिय राजनीतिमा फर्किने विषयमा असहमति जनाउँदै नेतृ ओनसरी घर्ती मगरले त विशेष महाधिवेशनको माग नै गरेकी छन् । उनले पार्टी अब यथास्थितिमा नचल्ने बताउँदै विशेष महाधिवेशनबाट नेतृत्व चयन हुनुपर्ने बताईन् । पासाङलाई केन्द्रीय कमिटी बैठकबाटै उपाध्यक्ष बनाउने तयारीको सांकेतिक विरोध गर्दैै उनले विशेष महाधिवेशनलाई जोड दिएकी हुन् ।
पासाङलाई सक्रिय राजनीतिमा फर्काउनेबारे माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलको भने फरक मत छ । उनी पासाङलाई राजनीतिमा आउन संविधान र कानुनका कुनै व्यवस्थाले नछेकेको बताउँछन् । सचिव पौडेलका अनुसार पासाङले नै आफू युवा नै रहेको र अहिले नै रिटायर जीवन बताउन नचाहेको भन्दै राजनीतिमा फर्किन प्रस्ताव गरेका थिए ।
‘उहाँ युवा हुनुहुन्छ । कुनै कानुन, संविधानले आउन हुँदैन भनेर लेखेको पनि छैन । म सक्रिय हुन्छु, म जागरुक हुन्छु, मेरो उमेर पनि छ, म रिटायर लाइफ बिताउन सक्दिनँ भनेको हुँदाखेरी फेरि जनताको पक्षमा, देशको पक्षमा, पार्टी निर्माणको पक्षमा उहाँले आफूलाई सक्रिय बनाउनुहुन्छ भनेदेखि कहीँ न कहीँ कानुनले नछेकेको हुँदा सक्रिय बनाउनुपर्छ भन्ने पक्षमा हामी छौं । उहाँ आमन्त्रित रुपमा पार्टीको बैठकहरुमा आउन पनि थाल्नुभएको छ,’– नेता पौडेलले भने । File Photo/RN