Logo

प्रचण्डलाई पनि श्रम शिविरमा खटाउनुपर्ने राय, विशेष महाधिवेशनबारे मिश्रित धारणा



काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । दोस्रो दिन आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केन्द्रीत रहेर ८० जना सदस्यले आफ्नो धारणा राखेको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा नेताहरुको जीवनशैली र चरित्रका बारेमा पनि सदस्यहरुले प्रश्न उठाएका थिए । प्रवक्ता सापकोटाले नेताहरुको जीवनशैली खुल्ला पुस्तकको पानाजस्तै हुनुपर्ने र उच्च नैतिक चरित्र हुनपर्नेमा सबैले वक्ताहरुले समान धारणा राखेका थिए ।

‘आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरुले बोल्नुभयो । सबैको के छ भने– प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्छ भन्ने छ । हाम्रो जीवनशैली खुल्ला पुस्तकको पानाजस्तो हुनुपर्छ, पारदर्शी हुनुपर्छ । उच्च नैतिक चरित्र र सबैको विश्वास जित्नेखालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ,’– उनले भने ।

त्यस्तै, अध्यक्ष प्रचण्डसहित सबै नेता तथा कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने सदस्यहरुको सुझाव छ । प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तीमा पनि महिनामा ३ पल्ट अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ । दण्डहीनताको अन्त्य गरिनुपर्ने भन्ने छ ।’

त्यस्तै, महाधिवेशनको बारेमा मिश्रित प्रतिकृया आएको र पहिचानको कुरामा दृढ भएर उभिनुपर्ने, संघीयताको सवालमा मजबुद ढंगले आवाज उठाउनुपर्नेलगायतका कुरा माओवादीको केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको बताइएको छ । नेताहरुले माओवादीलाई ऐतिहासिक अवसर आएको र गुम्न दिन नहुने धारणा राखेको उपाध्यक्ष सापकोटाले बताए । ‘पार्टी एकतावद्ध हुनुपर्छ । पार्टी एकतावद्ध भएर अगाडि जानुपर्छ भन्ने कुरामा सबैको एक स्वर छ,’– उपाध्यक्ष सापकोटाले भने ।



प्रतिक्रिया दिनुहोस्