Logo

प्रचण्डको प्रस्तावमा सुदनको सुझावः योगा राख्ने हो भने मुन्धुम र धामी-झाँक्री पनि राखौं



काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा आज ८० जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो । प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा पूर्वमन्त्री सुदन किरातीले योगाको विषय प्रतिवेदनमा राखिनु उपयुक्त नहुने धारणा राखे ।

उनले योग व्यक्तिको अतिरिक्त रूचीको विषय भएकाले त्यसलाई प्रतिवेदनमा राख्न नहुने सुझाव पूर्वमन्त्री किरातीको थियो । उनले प्रतिवेदनमा योगालाई समावेश गर्ने हो भने मर्निङवाक, फिजियो थेरापी, मुन्धुम र धामी–झाँक्री पनि राखिनुपर्ने भन्दै आपत्ति जनाए ।

‘योगा भनेको कुनैपनि व्यक्तिको रूचीको अतिरिक्त क्रियाकलाप हो । यदि यो राख्ने हो भने मर्निङवाक पनि राखौं, फिजियो थेरापी पनि राखौं । हाम्रो पूर्वतिरको मुन्धुम पनि राखौं, धामी–झाँक्री पनि राखौं,’– पूर्वमन्त्री किरातीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्