Logo

सुदन किरातीको प्रस्तावः केन्द्रीय सदस्यहरुले जाँडरक्सी नखाने र जुवातास नखोल्ने निर्णय गरौं



काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले जाँडरक्सी नखाने र जुवातास नखेल्ने निर्णय गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूहरुले जनयुद्धका क्रममा जाँडरक्सी नखान र जुवातास नखेल्न भन्दै सचेतना फैलाएको बताउँदै नेताहरुले त्यस नीतिलाई अनुुशरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘केन्द्रीय समितिका नेताहरुले जाँड, रक्सी नखाऔं । जुवा–तास नखोलौं । हिजो हामीले जनयुद्धमा कारबाही गरेको होईन ? आज आफैं खाने ? बरु यस्तो निर्णय गरौं । समाजमा यसको सकारात्मक प्रभाव जान्छ । श्रीमती नकुटौं, श्रीमानसँग झगडा नगरौं । यस्तो निर्णय गर्न सकिन्छ नि,’– पूर्वमन्त्री किरातीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले रिपोर्टर्स नेपालसँग भने ।

साथै, फरक प्रसंगमा पूर्वमन्त्री किरातीले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई सक्रिय राजनीतिमा फर्काउँदा समाजमा नकारात्मक सन्देश जाने बताए । किरातीले बरु पासाङको नाममा पाठशाला बनाउन र ज्ञान बुद्धिका कुरा बाँड्न प्रेरित गरिनुपर्ने धारणा राखेका थिए । ‘१२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा ल्याउने कोशिस नगरौं । सम्माननीयलाई झन सम्माननीय बनाऔं । एउटा संस्कृति र परम्परा स्थापित गरौं । यो काम गर्दैन गरौं,’– किरातीको भनाइ थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्