काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा आज ८० जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो । प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा पूर्वमन्त्री सुदन किरातीले राजनीतिक दल राज्यसत्ता सञ्चालन गर्ने स्तम्भ रहेको धारणा राखे । उनले एमालेको आन्तरिक राजनीतिमा स्टालिन प्रवृत्ति हाबी हुँदै गएको बताए ।
‘एमालेको आन्तरिक पार्टीभित्र ओलीमा स्टालिन प्रवृत्ति देखियो । स्टालिनले पहिला छातीमा गोली ठोक्थ्यो र जनताको हत्या गर्थ्यो । आजको स्टालिन (केपी ओली) ले मुखमा चुक्कुल ठोक्छ र राजनीतिको हत्या गर्छ । ओलीमा स्टालिन प्रवृत्ति देखियो,’– नेता किरातीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
साथै, नेता किरातीले पार्टी अध्यक्ष प्रचण्डलाई भने लेलिनभन्दा पनि बढी जनवादी नेताको रुपमा चित्रण गरे । प्रचण्डले सरकारमा रहँदा निर्वाह गरेको भूमिकाकै कारण पार्टीमा अहिले आकर्षण बढेको उनले बताए । माओवादीको पक्षमा देखिएको वातावरणलाई नेतृत्व गर्दै अनुशासित र बृहत पार्टी बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
‘प्रचण्ड चाहीँ लेलिनभन्दा पनि बढी जनवादी देखिनुभयो । बाहिर वातावरण जसरी पार्टीको निम्ति आकर्षण बन्दैछ, नेतृत्व पनि हामीसँग छ । अब यो वातावरण र वातावरणलाई नेतृत्व गरेर देश जिम्मा लिनका लागि हामीले अनुशासित र बृहत पार्टी बनाउनुपर्छ,’– उनले भने ।
साथै, किरातीले अनुशासित र बृहत पार्टी बनाउन विशेष महाधिवेशनको आवश्यकतासमेत औंल्याए । उनले केन्द्रीय समितिलाई नै विशेष महाधिवेशन आयोजक समितिमा परिणत गरेर विधि र विचारको विकास गर्नुपर्ने बताए । ‘विशेष महाधिवेशन आजै घोषणा गरौं । यो केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौं । विधि र विचारको विकास गरौं,’– नेता किरातीले भने ।