काठमाडौं । आज (मंगलबार) बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो क्षति प्रारम्भिक विवरण मात्र हो। विस्तृत विवरण आउन बाँकी छ। उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।
यता राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले भने नेपालमा उक्त भूकम्पका कारण मानवीय क्षति नभएको जानकारी गराएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ ।
यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।