काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री हरिबोल गजुरेलले नेकपा (एमाले) ले आफूहरुलाई आरोप लगाउनु उपयुक्त नहुने टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार र अनियमितताको टावर नै खडा गरेको एमालेले माओवादीलाई कुनैपनि आरोप लगाउन र अर्ती–उपदेश दिन उपयुक्त नहुने बताएका हुन् ।
एमालेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई विभिन्न आरोप लगाउँदै प्रतिवेदन पेश गरेका थिए । ओलीले सार्वजनिक मञ्चमा समेत माओवादी सुन तस्करी र भ्रष्टाचारीको पार्टी भन्दै आएका छन् । माओवादीमाथि ओलीले लगाएका यिनै आरोपको खण्डण गर्दै उपमहासचिव गजुरेलले भने एमालेको आरोपलाई गम्भीरतापूर्वक लिन आवस्यक नरहेको बताए ।
‘एमालेले आरोप लगाउनुको अर्थ छैन । एमाले आफैं कहाँ पुगेको छ भन्ने कुरा तपाईँ देखिइरहनु भएको छ । जनता र अरु राजनीतिक पार्टीहरुले आरोप लगाएभने त्यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । एमालेले लगाएका त्यस्ता आरोपहरु, उ आफैं कहाँ गएर फसेको पार्टीले हामीलाई अर्ति उपदेश दिने कुरा मिल्दैन । उ यस्तो ठाउँमा फसेको छ, भ्रष्टाचार र अनियमितताको टावर नै खडा छ,’– उनले भने । File Photo/RN