काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई पार्टीमा कुनै औपचारिक पद नदिइएको बताएका छन् । हिजो (सोमबार) हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पासाङलाई पार्टीको सम्पत्तिको रुपमा, सम्मानित व्यक्तित्वको रुपमा बैठकमा आमन्त्रित गरिएको बताएका हुन् ।
‘कुनै औपचारिक पदहरु दिएको छैन । उहाँलाई पार्टीको सम्पत्तिको रुपमा, सम्मानित व्यक्तित्वको रुपमा हामीले त्यहाँ उपस्थित गराएको हो । हामीले त्यो विषयमा कुनै निर्णय गरेका छैनौं । त्यो विषयमा पार्टीभित्र र बाहिर पनि बहस छ । हामीले उपयुक्त समयमा निर्णय लिनुपर्छ,’– उनले भने ।
तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरसमेत रहेका पासाङ पछिल्लो समय माओवादीको बैठकहरुमा सहभागी हुने गरेका छन् । पार्टी बैठकमा उनको सहभागितालाई लिएर विभिन्न टिकाटिप्पणी र आलोचना भइरहेको छ ।
उपराष्ट्रपति र राष्ट्रपति भइसकेका व्यक्ति फेरी पार्टी राजनीतिमा फर्किन हुँदैन भन्ने नियम नभएकै कारण आज सबैतिर बहस भइरहेको उनले बताए । अन्य नेताहरुले जिम्मेवारी खोस्ने, हटाउने गरी पासाङलाई पार्टी राजनीतिमा ल्याउन लागिएको भनी भइरहेको प्रचारबाजी भ्रममात्रै रहेको उनले बताए । नेता गजुरेलले अहिले पार्टीभित्र विशेष महाधिवेशन र एकता महाधिवेशनको बहससमेत सुरु भएको बताए ।