काठमाडौं । आज बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ५६ जनाको मृत्यु पुष्टि भएको छ।
चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त भूकम्पमा परेर ५६ जनाको मृत्यू पुष्टि भएको जनाएको छ ।
चिनियाँ सञ्चारमाध्यमले उक्त धक्का ६।८ म्याग्निच्युडको भएको जनाएका छन् ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भूकम्पका कारण नेपालका पूर्वी पहाडी जिल्लाका केही स्थान प्रभावित भएका छन् । भूकम्पकाकारण ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।
भूकम्पका कारण कोशीका पहाडी जिल्लामा अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ ।
यता बारामा भूकम्पको धक्का गएपछि भाग्नेक्रममा एक दर्जन विद्यार्थी बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पबाट भाग्नेक्रममा एक व्यक्ति घाइते भएका छन् । उनी डेढ तले घरको छतबाट हामफालेर भाग्न लाग्दा घाइते भएको प्रहरीले जनाएको छ ।