Logo

विद्या र पासाङको राजनीतिक सक्रियताप्रति बाबुराम भट्टराई असन्तुष्ट



काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को सक्रिय राजनीतिप्रति प्रश्न उठाएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्नै पूर्वपार्टीमा फर्केर क्रियाशील हुने कुरा सम्बन्धित व्यक्ति र पार्टीको मात्र सरोकारको विषय नभएको बताएका छन् ।

‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो’ उनले भनेका छन् ‘साथै उहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले उहाँहरू र उहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो। त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्’।

तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष भइसकेकी भण्डारी पछिल्लो समय सक्रिय राजनीतिमा फर्किने अन्तिम तयारीमा छिन् । उनी एमालेको ११ औं महाधिवेशनबाट अध्यक्ष बन्ने र ०८४ को निर्वाचनपछि देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने रणनीतिमा छिन् ।

पूर्व उपराष्ट्रपति पुन भने माओवादी केन्द्रको राजनीतिमा फर्किइसकेका छन् । उनी जारी माओवादीको केन्द्रीय समिति र स्थायी समिति बैठकमा नै सहभागी हुन थालिसकेका छन् । उनलाई उपाध्यक्ष बनाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्