काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई राजावादीसँग साँठगाँठ रहेको आरोप लगाउनु आकाशतिर फर्किएर थुक्नुसरह हुने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानमाथि नै हमला गरिरहेको एमाले र त्यसको नेतृत्वले माओवादीलाई उक्त आरोप लगाउन नसुहाउने बताएका हुन् ।
‘उहाँहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानमाथि नै हमला गरिरहेको स्थितिमा, संघीयता, समानुपातिक प्रतिनिधित्वमाथि नै हमला गरिरहेको बेलामा माओवादीलाई राजावादीसँग साँठगाँठ गरिरहेको भन्नु उहाँहरुले आकाशतिर फर्किएर थुक्नु सरह हुन्छ,’– उनले भने ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनमा माओवादीको राजावादीहरुसँग उठबस रहेको आरोप लगाएका थिए । उक्त आरोपको माओवादी नेताहरुले खण्डण गरिरहेका छन् । सचिव पोखरेलले पनि त्यसमा कुनै सत्यता नरहेको र पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक पात्र नभएको कारण उनीसँग संवादको कुनै गुञ्जायस नरहेको बताए ।