काठमाडौं, २३ पुस । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा ल्याउनेबारे संस्थागत ढंगले छलफल नभएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनेबारे संस्थागत र व्यक्तिगत रुपमा कुनै छलफल नभएको बताएका हुन् । उनले आफू यो विषयमा कुनै जानाकार नरहेको बताए ।
‘उहाँ अहिले सक्रिय राजनीतिमा हुनुहुन्न । अहिले म संस्थागत ढंगले केहीपनि भन्न सक्दिनँ । अहिले हामी पार्टीको कार्यविधि र एजेण्डाअनुसार अगाडि बढिरहेका छौं । हामीले यो भन्दा दायाँबाँया कुनै सोचेका पनि छैनौं । हाम्रोमा संस्थागत ढंगले छलफल भएको पनि छैन, व्यक्तिगत ढंगले पनि हामीले छलफल गरेका छैनौं । यो विषयको बारेमा हामी जानकार छैनौं,’– उनले भने ।
साथै, पूर्वराष्ट्रपति भण्डारी २/२ चोटी पटक एमालेको उपाध्यक्ष भएको र सफलतापूर्वक राष्ट्रपतिको भूमिका निर्वाह गरेको स्मरण गराउँदै उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेट्न जानु स्वभाविक रहेको बताए । उनले भण्डारीलाई पार्टीले मार्गनिर्देशक मानेको र ओलीले नियमित रुपमा भेटवार्ता गर्ने गरेको बताए ।
‘२/२ चोटी पार्टीको उपाध्यक्ष भइसकेको व्यक्ति हुनुहुन्छ । सफलतापूर्वक राष्ट्रपतिको भूमिका निर्वाह गरेको व्यक्तित्व हुनुहुन्छ । हाम्रो अभिभावक, हाम्रो नेता र राष्ट्रको नेता हुनुहुन्छ विद्यादेवी भण्डारी । उहाँसँग जाने÷भेट्ने, सरसल्लाह लिने कुरा त हामी सबैका लागि मार्गनिर्देशन नै हुन्छ । यसमा दुईमत छैन । सम्माननीय प्रधानमन्त्री नियमित रुपमा भेट्न जानुहुन्छ,’– उनले भने । File Photo/RN